काठमाण्डौ । उनी २० वर्षदेखि भ्लालिमिर पुटिनसँग छिन्। रुसको सबैभन्दा ठूलो अल्पसंख्यक जातीय समूह तातारलाई प्रतिनिधत्वि गर्ने एलभिरा अबिउल्लिना रुसको सत्ता जमातमा फ्रन्च भाषामा कविता पढ्ने र संकटका बेला कडा कदम चाल्ने व्यक्तिका रुपमा परिचित छिन्। एलभिरा रुसको केन्द्रीय बैंकको नेतृत्व गर्ने पहिलो महिला पनि हुन्। 

सन् २००८ मा पुटिनले पहिलोपटक सत्ता सम्हालेदेखि नै एलभिरा उनको निकट सहयोगीका रुपमा रहँदै आएकी छन्। पुटिनले एलभिरालाई आर्थिक विकासमन्त्री बनाएका थिए र पछि आफ्नो सल्लाहकार समूहमा समावेश गरेका थिए। 

एलभिराको करिअरको सबैभन्दा महत्वपूर्ण समय २०१३ मा आयो। जब उनलाई रुसको केन्द्रीय बैंकको प्रमुख बनाइयो। केन्द्रीय बैंक रुसका महत्वपूर्ण संस्थाहरुमध्ये एक हो। बितेका वर्षहरुमा रुसको केन्द्रीय बैंंकले कयौँ चुनौतीहरुको सामना गर्नुपर्यो। तर, यीमध्ये युक्रेन युद्ध सबैभन्दा ठूलो चुनौतीका रुपमा देखिएको छ। 

एलभिरा एकदमै कम बोल्छिन्। उनले चाल्ने कदमहरुले बजारलाई प्रभावित पार्छन् र रुसको वित्तीय नीतिको चाबी उनको हातमा छ। सायद यही कारण उनले चाल्ने आर्थिक कदमको संकेत पाउनका लागि लगानीकर्ता तथा विश्लेषकहरु उनको पोसाकमा लगाइने बु्रच(पिन)को प्रतीकहरुको संकेतलाई अनेक अर्थ निकालिरहेका छन्। 

ब्रुचको भाषा 

दुई वर्षअघि एलभिराले रुसको एक टीभी च्यानललाई अन्तर्वार्ता दिँदै भनेकी थिइन्, ‘म प्रत्येक प्रतीकमा केही न केही लगाउछु।’

केही मानिस मान्छन् कि जब उनले बाजको ब्रुच लगाएकी थिइन् तब यसको अर्थ यो थियो कि उनी ब्याजदर बढाउन गइरहेकी छिन्। र, जब उनले बादल भएको ब्रुच लगाएकी थिइन् तब महँगी दर कम गर्ने संकेत गरेकी थिइन्। 

बीबीसी रुसी सेवाका आर्थिक सम्पादक आल्गा शमिना भन्छिन, ‘रुसले युक्रेनमाथि आक्रमण गरेको केही दिनपछि जब उनी सार्वजनिक समारोहमा सहभागी भइन् तब उनले कालो पोसाक लगाएकी थिइन्। मानौँ कि उनी दुःख व्यक्त गरिरहेकी छन्।’

जब पश्चिमा देशहरुको आर्थिक प्रतिबन्धहरुपश्चात रुबेलको मूल्यमा गिरावट आयो तब एलभिराले आफ्नो पोसाकमा कुनै पिन लगाएकी थिइनन्। अधिकांश मानिसहरुले यस विषयमा ध्यान दिएका थिए। 

शमिना भन्छिन्, ‘उनको पोसाकमा लगाइने पिन एउटा जटिल सञ्चार प्रणालीको हिस्सा हो। जसबाट रुसका बैंकर र लगानीकर्तालाई संकेत प्राप्त हुन्छ कि उनी अब के गर्न गइरहेकी छिन्। उदाहरणका लागि जब मार्च २०२० मा कोभिड महामारीका क्रममा बजारमा गिरावट आयो तब एलभिराले खेलौनाको अनुहार भएको ब्रुच लगाएकी थिइन्।’

त्यही वर्ष जब अधिकांश मानिसहरु क्वारेन्टिनमा थिए तब एलभिराले घरको आकारको बु्रच लगाएकी थिइन्। तर, समस्या यो छ कि कयौँपटक उनी जटिल प्रतीकहरुको प्रयोग गर्ने गर्छिन्। चितुवा, तीर र अन्य कयौँ जटिल प्रतीकहरु, जसको उपयुक्त अर्थ निकाल्न मुश्किल हुने गर्छ। 

युद्ध सुरु भएपछि एलभिरा सार्वजनिक रुपमा कुनै पनि बु्रच लगाएर उपस्थित भएकी छैनन्। 

करिब एक दशकसम्म केन्द्रीय बैंकको नेतृत्व गरेपश्चात एलभिरा जसलाई ‘लेडी विथ द ब्रुचेज’ पनि भन्ने गरिन्छ उनको पद सन् २०२७ सम्मका लागि सुनिश्चित गरिएको छ। यो कार्यकालमा उनको क्षमताको परीक्षा हुनेछ। किनकि प्रतिबन्धहरुबाट घेरिएको रुसको अर्थतन्त्रले कयौँ चुनौतीहरुको सामना गर्नुपरिरहेको छ। 

शक्तिशाली व्यक्तिहरुमा गन्ती

एलभिरालाई ओपेरा मन पर्छ। उनको सार्वजनिक छवि एउटा कडा टेक्नोक्रेटका रुपमा रहेको छ। केन्द्रीय बैंकको प्रमुखका रुपमा उनले अन्तर्राष्ट्रिय मुद्रा कोष, वाल स्ट्रिटका लगानीकर्ता, व्यवसायी र सरकारका रणनीतिकारको प्रशंसा हासिल गरेकी छन्। उनलाई एउटा यस्तो खेलाडीका रुपमा चिनिन्छ जसले आफ्नो मैदानको खेल राम्रोसँग बुझ्छिन्। 

सन् २०१३ देखि २०१७ सम्म एलभिराले ३०० भन्दा बढी बैंकको लाइसेन्स खारेज गरेकी थिइन्। यी बैंकहरुको प्रदर्शन राम्रो थिएन र उनीहरुको व्यवस्थापनमाथि प्रश्न उठिरहेको थियो। यी बैंकहरुको लाइसेन्स खारेज गरेकोमा एलभिराको निकै प्रशंसा भएको थियो। 

एलभिरालाई महँगी नियन्त्रण गरेकोसमेत श्रेय प्रदान गर्ने गरिन्छ। सन् २०१८ मा उनले ब्याजदरलाई दुई प्रतिशतसम्म कायम गरेकी थिइन्। यो ऐतिहासिक गिरावट थियो। सन् २०१४ मा विनिमय दरमा नियन्त्रण गर्नुको साटो उनले रुबेललाई स्वतन्त्र रुपमा कारोबार गर्न दिएकी थिइन्। यसको श्रेय पनि उनलाई दिइने गरिन्छ। 

सन् २०१५ मा यरोमनी म्यागेजिनले एलभिरालाई विश्वको सर्वोत्कृष्ट केन्द्रीय बैंकरको उपाधि दिएको थियो। त्यस्तै सन् २०१७ मा बैंकर पब्लिकेसनले उनलाई युरोपको सर्वोत्कृष्ठ बैंकर घोषणा गरेको थियो। 

एलभिराको नेतृत्वमा नै रुसको केन्द्रीय बैंकले आफ्नो इतिहासमा सर्वाधिक विदेशी मुद्रा भण्डार आर्जन गरेको थियो। इकोनोमिस्टको इन्टेलिजियन्स युनिट एनालेसिस कन्सल्टेन्सी ग्लोबल फोरबास्टका निर्देशक अगाथे डेमारियाजका अनुसार एलभिराले रुसी अर्थतन्त्रको सबैभन्दा कठिन अवस्थामा केन्द्रीय बैंकको नेतृत्व सम्हालेकी थिइन्। सन् २०१४ मा जब क्रिमियामाथि नियन्त्रण गर्दा र सन् २०२२ मा युक्रेनमाथि हमला गर्दा एलभिरा केन्द्रीय बैंकको प्रमुख थिइन्। 

अगाथे भन्छिन्, ‘यी दुवै घटनामा एलभिरा रुबेललाई घट्नबाट बचाउन र तीव्र महँगी रोक्न सफल रहिन्।’

सिक्काका दुई पाटा

पेरिस साइसेज पो युनिर्भसिटीमा अर्थशास्त्रका प्रोफेसर सर्गेई ग्युरेव भन्छन्, ‘एलभिरामाथि पुटिनले भरोसा गर्छन् तर कथाको एउटा अर्को पाटो पनि छ। एलभिराले कयौँ आपराधिक वित्तीय संस्थाहरु बन्द गराएकी छन्। यस अभियानलाई केवल रुसमा मात्रै नभएर रुसबाहिर पनि प्रशंसा गर्ने गरिन्छ। यो पनि जान्न आवश्यक छ कि जब एलभिराका पूर्ववर्तीले केही अछुत बैंकरहरुसम्म पुग्ने प्रयास गरे तब उनले आफ्नो ज्यान गुमाउनुपर्यो। ’

तथापि एलभिराको भ्रष्टाचारविरोधी अभियानको पनि विरोध भयो। किनकि यसमा केवल साना बैंकरहरुलाई मात्रै निशाना बनाइएको थियो र ठूला संस्थाहरुलाई उन्मुक्ति दिइएको थियो।

आलोचकहरुका अनुसार एलभिराले प्राप्त गरेका अन्तर्राष्ट्रिय उपलब्धिहरु सोचेअनुरुप छैनन्। उदाहरणका लागि जुन बैंकहरुलाई बन्द गरिएको थियो तीमध्ये केही यस्ता थिए, जसलाई अन्य संस्थाहरुले अधिग्रहण गरिसकेका थिए। यीमध्ये केही बैंकहरु पछि टाँट पल्टिएका थिए। 

आलोचकहरुका अनुुसार एलभिराका कयौँ अभियानहरु पारदर्शी थिएनन् र उनीहरुले सरकारी तेल कम्पनी रोसनेफ्टलाई सहयोग गरेका थिए। 

एलभिरालाई सरकारसँग जोडिएका कम्पनीहरुमात्रै बचाएको आरोप लाग्ने गरेको छ। –बीबीसीबाट भावानुवादित