काठमाण्डौ । इञ्जिनियरिङ पढेर समेत बेरोजगार हुनुपरेकाहरुका लागि खुशीको खबर । भूकम्पपछि देशमा पुननिर्माणको कामलाई द्रूत गतिमा अगाडि बढाउन तीन महिनाअघि गठित पुननिर्माण प्राधिकरणले २ हजार ५ सय ७१ जनालाई जागिर दिने भएको छ । प्राविधिक जनशक्तिमा सरकारी निकायले एकैपटक यति धेरै जनशक्ति मागेको संभवत यो नै पहिलो हुनसक्ने सरकारी अधिकारी बताउँछन । 
 

शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको यो निकायमा शुक्रबार प्राविधिहरुका लागि यति धेरै जागिरको अवसर खुलाइएको हो । प्राधिकरणले सार्वजनिक सूचना जारी गरी आवश्यक पदहरुमा प्राविधिकहरुबाट दरखास्त दिन आह्वान गरेको छ । यी प्राविधिक जनशक्ति व्यवस्थापनको टुंगो लागेपछि प्राधिकरणको काममा गति थपिइने विश्वास गरिएको छ । 
 

प्राधिकरणमा वस्ती तथा आवास विकास, सार्वजनिक भवन तथा शहरी पूर्वाधारण पुननिर्माण योजनामा काम गर्ने गरी इञ्जिनियर, सव इञ्जिनियर, असिस्टेन्ट सव इञ्जिनियर माग गरिएको हो । १३ सय ४६ इञ्जिनियर, ६ सय ५० सव इञ्जिनियर र ५ सय ७५ जना असिस्टेन्ट इञ्जिनियरले अवसर पाउनेछन् । सूचनामा उल्लेख भए अनुसार इञ्जिनियरिंग पढेकाहरुले १५ दिनभित्र अनलाइनबाटै दरखास्त दिनसक्नेछन् । यी जनशक्तिका लागि लिखित परीक्षा दिनुपर्ने झञ्झट समेत हटाइएको छ । शैक्षिक प्रमाणपत्र बुझाएर तोकिएको समयमा अन्तर्वार्ता दिई त्यसबाट उतीर्णहरुले जागिर खान पाउने बताइएको छ । 
 

अन्तर्वार्तामा उतीर्ण प्राविधिकहरुले सरकारी अनुदान लिएर बनाइने निजी भवनको प्राविधिक जाँच र प्रमाणीकरणको काम गर्नुपर्ने उल्लेख छ । त्यसैगरी, उनीहरुले घर निर्माणका लागि सरकारी अनुदान लिने भूकम्प पीडितको घरको डिजाइन स्वीकृत, प्रमाणीकरण र भुक्तानीका लागि सिफारिस समेत गर्नुपर्नेछ । 
 

पुनर्निर्माण प्राधिकरणले फागुन ३० गतेदेखि दोलखाको सिंगटीबाट भूकम्प पीडितलाई घर बनाउन नगद अनुदान वितरणको कार्य प्रारम्भ गरिसकेको छ । माघ २ गतेदेखि चाहि प्रधानमन्त्री र राष्ट्रपतिको अगुवाईमा रानीपोखरी र बुङमतीबाट पुनर्निर्माण महाअभियान सुरु गरेका थिए ।