काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा मार्केट प्लेयर स्क्रीप्टको रुपमा नेपाल पुनर्बिमा कम्पनीको दमदार प्रवेश भएको छ । 

ठूलो परिमाणमा आइपीओ निश्कासनपछि दोश्रो बजारमा सूचीकृत भएको यो कम्पनीमा पछिल्लो समय लगानीकर्ताको आकर्षण देखिन्छ । यो कम्पनीको दोश्रो बजारमा १० करोड कित्ता सेयर सूचीकृत छन् । 

ठूलो संख्यामा सेयर सूचीकृत भएसँगै कम्पनीको मूल्यमा चमात्कारिक ढंगले भइरहेको बढोत्तरीका कारण बजार पूँजीकरणमा यो कम्पनी टप स्थानमा पुगिसकेको छ । पछिल्लो केही हप्तादेखि यो कम्पनी बजार पूँजीकरणको हिसाबले नेपाल दूरसंचार कम्पनी लिमीटेडपछि दोश्रो स्थानमा छ । 

पूँजीकरणमा दोश्रो स्थानमा रहेको यो कम्पनीको सेयर मूल्य पछिल्लो एकमहिना भने रकेटकै गतिमा दौडिएको छ । नोभेम्बर ३ मा यो कम्पनीको दोश्रो बजार मूल्य प्रतिकित्ता ८६३ रुपैयाँ रहेको थियो । यो मूल्य बढेर आज(बुधबार)सम्म १७५८ रुपैयाँ पुगिसकेको छ । यसरी एक महिनाकै अवधिमा कम्पनीको मूल्यमा १०३.७० प्रतिशतको बढोत्तरी भइसकेको छ । अर्थात एक महिनाअघि पुनर्बिमा कम्पनीको सेयर दोश्रोबजारबाट  उठाउनेहरुको सम्पत्ति दोब्बर बढी भइसकेको छ । 

बढ्दो बजारमा नेपाल पुनर्बिमा कम्पनीको मात्र होइन, अन्य कम्पनीको पनि सेयर बढिरहेको छ । तर, पुनर्बिमा कम्पनीको सेयरको वृद्धिको गति रकेट जस्तै किन भइरहेको होला ? धेरै लगानीकर्ताहरु अन्यौलमा छन् । 

पछिल्लो समय केही ब्रोकर हाउसहरुमा नेपाल पुनर्बिमा कम्पनीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर आउँदैछ भन्ने हल्ला व्यापक रुपमा चलाइएको छ । ती ब्रोकरहरुले पुनर्बिमा कम्पनीका केही अधिकारीहरुसँगको मिलेमतोमा योजनाबद्ध ढंगले यस्तो हल्ला चलाइरहेका भेटिएको छ । किनभने यो हल्ला सही हो भन्ने पुष्टि हुने कुनै आधार नै छैन । 

नेपाल पुनर्बिमा कम्पनीका एक संचालकका अनुसार ब्रोकरहरुको चलखेलका कारण कम्पनीको मूल्य यति अस्वभाविक रुपमा वृद्धि भएको हो । 'हाम्रो कम्पनीको मूल्य यसरी बढ्नु राम्रो कुरा हो, तर यो बढोत्तरी जस्टीफाई हुने खालका चाहिँ होइन ।' ती संचालकले बिजशालासँग भने-'कम्पनीको सेयरमूल्य बढाएर आफ्नो परफरमेन्स राम्रो बनाउने ध्याउन्नमा कम्पनीकै सीइओ नै पनि यसमा लागेका छन् कि भन्ने हामीलाई शंका छ ।' 

यी संचालकको यो शंका किन पनि जायज छ भने केही ब्रोकर हाउसस्थित स्रोतहरुले हकप्रद निश्कासनको कुरा पुनर्बिमा कम्पनीकै उच्च अधिकारीहरुबाट आएको लगानीकर्ताहरुलाई बताएका छन् । 

हकप्रद आउँदैन त ?
पुनर्बिमा कम्पनीका संचालकहरुसँगको अनौपचारिक कुराकानीको क्रममा तत्काल हकप्रद सेयर जारी गरेर पूँजी वृद्धि गर्नुपर्ने कुनै आवश्यकता वा बाध्यता छैन । 'हाम्रो बजारको अवस्था, विजिनेशको आकारका लागि अहिलेको १० अर्ब पूँजी पर्याप्त छ ।' ती संचालकले भने-'यस्तो अवस्थामा हकप्रद निश्कासन गरेर पूँजी बढाउने भन्ने सवाल नै उठ्दैन ।' 

नेपाल पुनर्बिमा कम्पनीमा नेपाल सरकारको मात्रै ४४.०३९०५१ प्रतिशत लगानी रहेको छ । यसको अर्थ हल्लामा ल्याइएजस्तो १ बराबर १ को अनुपातमा यदि हकप्रद सेयर जारीको निर्णय हुने हो भने सरकारले मात्रै अर्ब बढी रकम हाल्नुपर्छ । 

कोभिडबाट थिलथिलो बनेको अर्थतन्त्र रिकभरिमा तन, मन र वचनले लागेको सरकारले पुनर्बिमाकै लागि भनेर ४ अर्ब बढी रकम हाल्छ भन्ने कुरा तर्कसंगत नहुने ती संचालकले बताए । 

यो विषयमा हामीले अर्थमन्त्रालयसँग समेत बुझ्ने कोशिश गर्यौं । मन्त्रालयका एक अधिकारीले सरकारलाई स्रोतको अभाव भइरहेको बेला पुनर्बिमा नामको कम्पनीमा अर्ब बढी रकमको दायीत्व थपिने गरी कुनै पनि निर्णय नहुने प्रष्ट पारे । 'सेयर बजारमा के के खेल हुन्छ, हामीलाई थाहा भएन, तर सरकारले चालु खर्च नै जुटाउन हम्मे परिरहेको बेला राष्ट्रिय प्राथमिकता र महत्वभन्दा बाहिरको विषयमा अर्ब बढी छुट्याउने प्रश्नै उठ्दैन ।' ती अधिकारीले बिजशालासँग भने-'यस्ता तत्कालीन प्राथमिकतामा नरहेका विषयमा अनावश्यक दायीत्व सिर्जना गर्ने मूर्खता सरकारबाट हुँदैन ।' 

ती अधिकारीको भनाईमा कोभिडबाट थिलथिलो अर्थतन्त्र लयमा फर्किएपछि भने पुनर्बिमा कम्पनी मात्र नभई सरकारको लगानी रहेका कम्पनीहरुको पूँजी बढाउने, विजिनेश बढाउने गरी राम्रो आधारशीला तयार गरिदिने लगायतका विषय प्राथमिकतामा पर्नसक्छन् । 

यसअघि सरकारी लगानीकै एचाआइडिसिएलमा पनि हकप्रदको हल्ला चलाएर सेयरमूल्य साढे ५ सयसम्म पुर्याइएको थियो । यस्तै, सरकारी लगानीको नागरिक लगानी कोषले हकप्रद ल्याउने प्रयास गरेको लामो समयपछि मात्रै त्यसको स्वीकृति पाएको थियो । सहज अवस्थामा समेत सरकारी लगानीका कम्पनीमा पूँजी वृद्धि यति सकसपूर्ण रहेको इतिहासले रहेको देशमा कोभिडका कारण अर्थतन्त्र नै समस्यामा परेको बेला पुनर्बिमा कम्पनीको हकप्रद निश्कासनको निर्णय हुनसक्ने संभावना नै देखिन्न । 

बोनस चाहिँ कति आउँछ त ?
नेपाल पुनर्बिमा कम्पनीको गत वर्षको चौथो त्रैमासको वित्तीय विवरणमा उल्लेख नाफासँग हिसाब गर्दा यो कम्पनीले १० प्रतिशत हाराहारी लाभांश दिनसक्ने देखिन्छ । बजारमा हल्ला चलाइएजस्तो २० प्रतिशत लाभांश आउने संभावना पनि क्षीण छ ।

निश्कर्ष
यसरी हेर्दा पुनर्बिमा कम्पनीको सेयर केही ब्रोकर, केही स्वार्थ समूहको मिलेमतोमा बलुन झै फुलाइएको देखिन्छ, यति तीव्र बढोत्तरी ठीक छ भन्ने आधार केही पनि देखिएन । न राम्रो लाभांश बाँड्नसक्ने क्षमता, न राम्रो इपीएस, न त पूँजी वृद्धिको बलियो आधार नै ।

खुलेआम अनेकन हल्ला चलाएर पुनर्बिमाको सेयरमूल्य रकेटको गतिमा दौडाउने खेल हुँदा समेत सरोकारवाला निकायहरुले भने ध्यान दिएका छैनन् ।

बजारमा यस्तो खेल हुँदा सोझा लगानीकर्ता जुनसुकै बेला बाठा र गिरोहको चंगुलमा फस्नसक्ने खतरा हुन्छ । पुनर्बिमा मात्र होइन, बजारमा बलुन झै मूल्य फुलाइएका, तीव्र सेयर कर्नरिंग गरेर कृत्रिम ढंगले मूल्यलाई चुचुरोमा पुर्याइएका कम्पनीको विषयमा समेत सजगता अपनाउनुपर्ने हुन्छ । यस्तो विषयमा धितोपत्र बोर्डले समेत मिहीन र निश्पक्ष ढंगले छानबिन गर्नुपर्ने देखिन्छ ।  

हुन त धितोपत्र बोर्डले मंगलबार एक विज्ञप्ति सार्वजनिक गरी कम्पनीको आधारभूत पक्ष केलाएर मात्र लगानी गर्न लगानीकर्तालाई आह्वान गरिसकेको छ । 

यो विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीको प्रतिक्रिया लिन खोज्दा उनको फोन स्वीचअफ थियो ।