– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सबैखाले व्यापारको सिजन हुन्छ। सेयर बजार पनि एउटा व्यापार र कारोबार नै हो। यसमा पनि सिजन र समयले सेयरको मूल्यमा असर गर्छ। 

एक वर्षको चक्रमा सेयर बजारमा प्रायःजसो पुस र माघको चिसो महिनालाई ड्राई सिजन अर्थात सुख्खा समय पनि भनेर चिनिन्छ। यो समयमा बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुने र अधिकांश कम्पनीले लाभांश वितरण गरिसक्ने भएकाले लगानीकर्ता निष्क्रिय हुन्छन्। तर, सेयर बजारमा सधैँ एउटै नियमले काम गर्दैन। 

यो वर्ष सेयर बजारमा केही भिन्न परिदृश्य देखिएको एक ब्रोकर सञ्चालक बताउँछन्। ती ब्रोकर सञ्चालकले अहिले पुसको चिसो महिनामा सेयर बजार एकाएक तात्नमा ५ कारण रहेको बताए। ‘पहिलो कारण– अहिलेको बजार ३५ खर्ब रुपैयाँको बजार हो, त्यसमा जम्मा १ खर्ब रुपैयाँभन्दा पनि कम सेयर धितो कर्जाबाट आएको छ’, उनले भने, ‘अर्थात अधिक मात्रामा स्वपुँजीले बजार चलेको छ, बजार पनि धेरै मजबुत बनेको छ।’

सेयर धितो कर्जाले मात्रै बजार नचलेको ती ब्रोकर सञ्चालकको दाबी छ।

ती ब्रोकर सञ्चालक बजार तात्नुको दोस्रो कारण अधिकांश लगानीकर्ता ऋणमुक्त हुनु रहेको बताउँछन्। ‘सेयर धितो कर्जा लिएर कारोबार गर्ने अधिकांशले बजार माथि गएको बेलामा ऋण चुक्ता गरिसकेका छन्, बजारमा अहिले धेरै लगानीकर्ता ऋणमुक्त भएका छन्’, उनले भने। 

तेस्रो कारण उच्च मूल्यमा सेयर बेचेर बसेका लगानीकर्ताहरु बजार ३२०० विन्दुबाट करिब १ हजार अंकले घटेको मौका छोपेर बजारमा पुनः पस्नु नै रहेको ती ब्रोकर सञ्चालकको भनाइ छ। ‘चौथो कारणमा अहिले बजार व्यापक विस्तार हुनु नै हो’, उनले भने, ‘लगानीकर्ताको सहभागिता ठूलो हुनु नै बजार बढ्नुको आधार हो।’ 

बजार बढ्नुको पाँचौँ कारणमा अहिले राष्ट्र बैंक तथा सरकारले लिएको नीतिलाई लिनुपर्ने ती ब्रोकर सञ्चालकको तर्क छ। ‘विलाशिताका वस्तु आयातमा लगाइएको रोक र आयातमा निरुत्साहित गर्दा पनि सेयर बजारमा सकारात्मक प्रभाव परेको छ’, ती ब्रोकर सञ्चालकले भने।

ती ब्रोकर सञ्चालकले बजार यति नै बढ्छ भनेर अहिले किटेर तोक्न मुस्किल रहेको बताए। ‘तर, बजार अब धेरै तल जाने ठाउँ छैन’, ती सञ्चालक दाबी गर्छन्।