काठमाण्डौ । सगरमाथा फाइनान्स लिमीटेडले आफ्नो सेयरधनीलाई आगामी पुस ११ गतेदेखि ८० प्रतिशत हकप्रद जारी गर्ने भएको छ ।

यो कम्पनीले बिहीबार एक सूचना प्रकाशित गरी हकप्रदका लागि सेयरधनीले पुस ११ गतेदेखि ३५ दिनसम्म अर्थात, माघ १७ गतेसम्म आवेदन दिन सक्नेछन् । सगरमाथा फाइनान्सले १ सय रुपैयाँ अंकित मूल्यको २९ लाख ५४ हजार ३ सय ८९ कित्ता हकप्रद निश्कासन गर्दैछ । 

८० प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति मंसिर २४ गतेलाई तोकिएको छ । यसको अर्थ मंसिर २३ गतेसम्म यो कम्पनीको सेयर आफ्नो नाममा नामसारी गरेका वा खरीद गरेकाहरु मात्र हकप्रद भर्नका लागि योग्य मानिनेछन् । 

यो कम्पनीको हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । इच्छुक सेयरधनीले एनआइबिएल क्यापिटलको लाजिम्पाटस्थित मुख्य कार्यालय तथा सगरमाथा फाइनान्सका सबै शाखा कार्यालयबाट आवेदन भर्न सक्नेछन् । 

हाल यो कम्पनीको चुक्तापूँजी ३६ करोड ९२ लाख छ । ८० प्रतिशत हकप्रद व्यवस्थापनपछि कुल चुक्तापूँजी ६६ करोड ४७ लाख रुपैयाँ पुुग्नेछ । यो संस्थासँग १ अर्बको अधिकृत पूँजी छ । 

सगरमाथा फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड २७ लाख खूद नाफा आर्जन गरेको थियो ।