काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले अवितरित ५ लाख बढी हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ।

कम्पनीले यही पुस १७ गतेबाट ५ लाख १५ हजार २४८.२५ कित्ता सेयर लिलामीमा राख्ने भएको हो। लिलामीमा राख्न लागिएको कुल कित्तामध्ये संस्थापक सेयर २ लाख ५५ हजार ७८.७५ कित्ता र सर्वसाधारण सेयर २ लाख ६० हजार १६९.५० कित्ता रहेको छ।

लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लिलामी सेयरमा इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाहले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा संस्थापक समूहका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण सेयरका लागि न्यूनतम १०० कित्ता लागि वा सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र काठमाण्डौको कमलादीस्थित क्यापिटलको कार्यालय, कमलादीमै रहेको नेपाल फाइनान्सको केन्द्रीय कार्यालय वा प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीमा पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति पुस २४ गते बैंकिङ समयसम्म तोकिएको छ।