काठमाण्डौ । हकप्रद र बोनस सेयरको आधारमूल्यमै पूँजीगत लाभकर लगाउने आन्तरिक राजश्व विभागको विवादास्पद सर्कुलरको बिषय चाँडै टुंगोमा पुग्ने राजश्व सचिव शिशिर ढुंगानाले दाबी गरेका छन् ।
नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलसँग बुधबार अर्थमन्त्रालयमा भएको भेटमा राजश्व सचिव ढुंगानाले कर सम्बन्धी सो विवाद चाँडै टुंगिने दाबी गरेका हुन्।
सो क्रममा ढुंगानाले लामो समयदेखि स्थगनको अवस्थामा रहेको र निश्कर्ष आउन नसकेको कर सम्बन्धी सोही विवादकै कारणले मात्र बजार निरन्तर नघटेको दाबी गरे । 'सेयर बजार भनेकै घटबढ भइरहने बजार हो ।' ढुंगानालाई उद्धृत गर्दै अध्यक्ष पोखरेलले बिजशालासँग भनिन्-'तर, कारणबिना दैनिक रुपमा बजार घटिरहँदा हामी पनि चिन्तित छौ ।'
सो भेटमा पोखरेलले कर सम्बन्धी अन्यौलको लामो समयसम्म निश्कर्ष ननिकालिएका कारण समेत बजारमा नकारात्मक प्रभाव परेको भन्दै त्यसलाई चाँडै टुंग्याइदिन आग्रह गरेकी थिइन् ।
सो क्रममा उनले बिनाकारण सेयर बजार निरन्तर घटिरहेको र यसले लगानीकर्तालाई चिन्ता पारेको बताइन् । 'अघिल्ला वर्षहरुमा सेयरको सिजन मानिने श्रावण, भाद्रमा औसतमा २०० करोडको कारोवार भइरहेकोमा आज मुश्किलले १७ करोडको मात्र कारोबार भयो ।' ढुंगानासँग अध्यक्ष पोखरेलले भनिन्-'यसरी सेयरको सिजन मानिने महिनामै बजार निरन्तर खस्कदै जानुले लगानीकर्ता अत्तालिएका छन्, तपाईहरुले गम्भीर बनिदिनुपर्यो ।'
राजश्व सचिव ढुंगानाले करिब एक महिनाअघि बिजशालासँग कुरा गर्दै अर्थमन्त्रालयमा थन्किएर बसेको पूँजीगत लाभकर सम्बन्धी सो अन्यौल एकहप्ताभित्रै हट्ने दाबी गरेका थिए । तर, उनले दाबी गरेको एक महिना बढी भइसक्दा समेत अर्थमन्त्रालयले त्यसलाई निश्कर्ष दिन सकेको छैन । सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा गठित अध्ययन समितिको म्याद थप्ने काम मात्र मन्त्रालयले गरिरहेको छ ।
सहसचिव उत्तरकुमार खत्री भने गम्भीर बिषय भएकोले चाँडै नटुंगिने दाबी गर्छन् । 'यो बिषय गम्भीर हो, फेरि विवाद नआउने गरी समस्याको समाधान खोज्ने कसरत जारी छ ।' उनले बिजशालासँग भने-'तर, चाँडै टुंगिने संभावना म देख्दिँन ।'
43 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago