काठमाण्डौ । नर्भिक इन्टरनेसल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकी छन्। 

पूर्वरानी शाह आज अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज भएकी हुन्। उनीसँगै छोरी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएकी छन्। 

कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वरानी शाह र छोरी प्रेरणा भर्ना भएका थिए। पूर्वराजा शाह गत वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए। त्यसको २ दिनपछि पूर्वरानी शाह र छोरी प्रेरणा डिस्चार्ज भएका हुन्। 

अस्पताल आएदेखि नै पूर्वरानी कोमल शाहको अवस्था बिग्रिन थालेको थियो । उनलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आईसीयूमा राखेर समेत केही दिन उपचार गरिएको थियो । प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो । निरन्तरको उपचारले उनको अवस्थामा पछिल्ला केही दिनदेखि सुधार आइरहेको थियो । क्रमिक रुपमा सुधार भइरहेको उनको अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। छोरी प्रेरणाको अवस्था सुरुआतदेखि नै सामान्य र स्थिर थियो। 

पूर्वराजा, पूर्वरानी र छोरी प्रेरणाको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो । नर्भिकको टिमलाई पूर्वराजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेका थिए।