काठमाण्डौ । चौतर्फी दवाबपछि बजेटमार्फत पूर्वाधार कर हटाएको सरकारले निर्देशन दिएपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । 

आयल निगमको बिहीबार बसेको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा रु. १० का दरले घटाउने निर्णय गरेको हो । 

निगमका प्रवक्ता विनितमणि उपाध्यायकाअनुसार मूल्य समायोजन भएपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ। 

सरकारले बजेटमार्फत पेट्रोल डिजेलमा लाग्दै आएको पूर्वाधार कर हटाउने घोषणा गरे पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । अर्थमन्त्रालयले बजेटमा भएको घोषणाका आधारमा पूर्वाधार कर घटाएर नयाँ मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि निगमले बिहीबार बल्ल मूल्य घटाउने निर्णय गरेको हो । 

नयाँ मूल्य बिहीबार राति १२ बजेदेखि नै लागू हुनेछ । 

निगमका अनुसार खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने समायोजन भएको छैन । 

अहिले निगमलाई सरकारले पूर्वाधार कर हटाउने निर्णय गर्दा मूल्य समायोजन गर्न सहज भएको छ । तर, भारतबाट नयाँ मूल्यसूची बढेर आइसकेकोले भविष्यमा पेट्रोलको मूल्य प्रतिलिटर २०० रुपैयाँभन्दा माथि पुग्नसक्ने सम्भावना छ ।