इटहरी । आधुनिक युगमा सर्वसाधारणको यात्रामा  समेत आधुनिकीकरण हुनु विकास र समृद्धिको दृष्टिकोणले राम्रो पक्ष हो । यही उद्देश्यबाट प्रेरित भएर यात्रुहरुको सुविधाका लागि आधुनिक विधिले तयार गरिएका सवारी साधन भित्रिनु पनि राम्रै कुरा हो । तर ती सवारी साधन दौडने सडकको अवस्था कस्तो छ भन्ने कुरा नियमनकारी निकायले ध्यान दिन आवश्यक छ । 
 

नेपालको परिवेशमा निर्माण भएका सडक क्षेत्र भन्दा बढी सवारी साधनहरु आयात भई संचालनमा आएका छन् । सवारीसाधनको चापले प्रतिदिन सडक साँघुरो  हँुदै गइरहेको छ । सडक साँघुरिएका कारण प्रतिदिनजसो सवारी दुर्घटना भई मानिसहरुले अकालमै ज्यान गुमाइरहेका छन् । पछिल्लो समयमा यात्रुहरुको सुविधाका नाममा जथाभावी रुपमा भारतबाट भित्रिएका सिटी रिक्सा(सफारी)का कारण सडक क्षेत्र थप साँघुरो र अस्तव्यस्त बन्दै गएको छ । 
 

पूर्वका मुख्य सहरी क्षेत्रमा सिटी रिक्साको चाप पछिल्लो समयमा निकै बढेको छ । यातायात व्यवस्था विभागले सिटी रिक्सा(सफारी) खरिदका लागि नगरपालिकाको सिफारिस अनिवार्य हुनुपर्ने व्यवस्था गरेका कारण सिफारिस दिँदा पैसाको चलखेल हुने क्रम समेत बढेपछि जथाभावी सिफारिस दिने क्रम पनि उसैगरी बढेको छ । जसकाकारण पूर्वी नेपालका सडकभरि यतिबेला सिटी रिक्सा कुद्न थालेका छन् । 
 

सिफारिसमा मनपरी
विद्युतबाट चल्ने इञ्जिनबिनाको सिटी रिक्सा(सफारी) दर्ताका लागि यातायात व्यवस्था विभागले सम्बन्धित नगरपालिकाको सिफारिस अनिवार्य गरेकाले सिटी रिक्सा बिक्रेता(डिलर) संचालक र नगरपालिकाका जिम्मेवार कर्मचारीहरुको साँठगाँठमा सिफारिसमा मनपरी हँुदै आएको छ । सिटी रिक्साको सबैभन्दा बढी कारोबार इटहरी र विराटनगरबाट भएको छ । इटहरी र विराटनगरमा डिलर संचालन गर्ने व्यापारीले इटहरी उपमहानगरपालिका र विराटनगर उपमहानगरपालिकाका जिम्मेवार कर्मचारीहरुसँग भित्री रुपमा साँठगाँठ गरेको पाइएको छ । कर्मचारीलाई मोटो रकम दिएर डिलर संचालकहरुले दर्जनौं सिटी रिक्साको सिफारिस लिने गरेका छन् । डिलर संचालकहरुले नगरपालिकाको सिफारिससहित दर्ता भएका सिटी रिक्साको मूल्य २ लाख ८० हजारदेखि ३ लाखसम्म तोकेर बिक्री गर्दै आएका छन् । सिफारिस र दर्ताबिनाका रिक्सा २ लाख ४० हजारमा बिक्री गर्दै आएका छन् । बीचको ६० हजार सिफारिस गर्ने नगरपालिकाका कर्मचारी, यातायात व्यवस्था कार्यालयका कर्मचारी र ट्राफिक प्रहरी समेतलाई बराबर भागबण्डा गर्दै आएको स्रोतको दाबी छ । डिलरबाट राम्रो रकम पाउन थालेपछि नगरपालिकाहरुले गोप्य रुपमा डिलरहरुलाई मागेजति सिफारिस दिंदै आएका छन् । नगरपालिकामा रहेको राजनीतिक संयन्त्रको बैंठकले निर्णय गरेभन्दा बढी सिफारिस दिएर सिटी रिक्सा सिफारिस र दर्तामा झेल गरिरहँदा समेत सम्बन्धित निकायहरु मौन बस्नुले यसमा कतै उनीहरुको पनि संलग्नता त छैन ? भन्ने प्रश्न यतिबेला उठिरहेको छ । 

 

सिटी रिक्सा दर्ता कति ? 
यातायात व्यवस्था कार्यालय कोशी इटहरीका अनुसार इटहरी उपमहानगरपालिकाबाट पहिले १ सय ५१ वटा सिफारिस भई दर्ता भएका छन् । पछिल्लो समयमा फेरि दोस्रो पटक सिफारिस भएका २ सय १९ वटा सिटी रिक्सा(सफारी) दर्ता भएको रेकर्ड यातायात व्यवस्था कार्यालय कोशीसँग छ । तर इटहरी उपमहानगरपालिका कार्यालयले पछिल्लो समयमा राजनीतिक संयन्त्रसहित बसेको बैठकले बढीमा ३ सय सिफारिस गर्ने निर्णय गरेको थियो । तर अहिलेसम्म इटहरी उपमहानगरपालिका कार्यालयले ५ सय ३८ भन्दा बढी सिफारिस गरिसकेको छ । तोकेको भन्दा बढी जथाभावी इटहरी उपमहानगरपालिकाले किन सिफारिस ग¥यो ? यो खोजीको बिषय बनेको छ । स्रोतका अनुसार नगरपालिकामा रहेका केही मुख्य राजनीतिक दलका नेताहरु, माथिल्लो तहका कर्मचारी, सिफारिस प्रदान गर्ने जिम्मेवार कर्मचारीहरुको व्यक्तिगत स्वार्थ र डिलर संचालकहरुसँगको साँठगाँठका कारण जथाभावी सिफारिस दिने काम भइरहेको छ । इटहरी उपमहानगरपालिकाका एक कर्मचारीले भने–‘ सिफारिस दिने जिम्मेवारी पाएका कर्मचारीका आफन्तले अहिले पनि हातमा ३०÷३५ वटा सिटी रिक्साको सिफारिस भएको इटहरी उपमहानगरपालिकाको पत्र बोकेर हिँड्ने गरेका छन् । यसलाई खोज्ने काम कसैबाट भएको छैन ।’ 

 

यातायात व्यवस्था कार्यालय कोशी इटहरीका अनुसार विराटनगर उपमहानगरपालिकाबाट सिफारिस भई आएका ३ सय सिटी रिक्सा(सफारी) दर्ता भएका छन् । इनरुवा नगरपालिकाबाट सिफारिस भई आएका १ सय २३, सुन्दरदुलारी नगरपालिकाबाट सिफारिस भई आएका ९७, रामधुनी भासी नगरपालिकाबाट सिफारिस भई आएका ६३, दुहबी भलुवा नगरपालिकाबाट सिफारिस भई आएका ५९, कोशीहरैंचा नगरपालिकाबाट सिफारिस भई आएका ६०, बेलबारी नगरपालिकाबाट सिफारिस भई आएका ४४, रंगेली नगरपालिकाबाट सिफारिस भई आएका ४२, लेटाङ भोगटेनी नगरपालिकाबाट सिफारिस भई आएका १८ र पथरीशनिश्चरे नगरपालिकाबाट सिफारिस भई आएका १२ सिटी रिक्सा( सफारी)दर्ता भएका छन् । धरान उपमहानगरपालिकाले ७५ वटा सिटी रिक्सा दर्ताका लागि सिफारिस गरेको छ  । यातायात व्यवस्था कार्यालय कोशी इटहरीको रेकर्डको संख्याभन्दा दोब्बर संख्यामा सम्बन्धित नगरपालिकाहरुले सिफारिस दिइसकेका छन् । सिफारिस भएमध्ये केही दर्ताबिना सहरका सडकमा जथाभावी कुदिरहेका छन् भने धेरै सिटी रिक्सा(सफारी)को सिफारिसपत्र डिलर संचालकहरुको गोजीमा रहेको स्रोतको दाबी छ । 
 

दर्तामा लुट
नगरपालिकाहरुबाट सिफारिस भई दर्ताका लागि यातायात व्यवस्था कार्यालय कोशी आएका सिटी रिक्सा(सफारी) चालकहरु लुटिने गरेका छन् । डिलरले तोकेको व्यक्ति(दलाल) र यातायात व्यवस्था कार्यालयका जिम्मेवार कर्मचारीहरुको मिलेमत्तोमा उनीहरु लुटिने गरेका छन् । सिटी रिक्सा(सफारी) दर्ताका लागि तोकिएको दस्तुरभन्दा बढी दस्तुर लिएर सिटी रिक्सा चालकहरुलाई लुट्ने काम भईरहेको छ । अर्कोतर्फ डिलर संचालकहरुले नै गोप्य रुपमा यातायात कार्यालयका कर्मचारीहरुलाई एउटा रिक्सा दर्ता गरेबापत ५ देखि १० हजारसम्म घूस उपलब्ध गराउँदै आएका छन् । 

 

यातायात व्यवस्था कार्यालय कोशी इटहरीका शाखा अधिकृत मिलन भट्टराईका अनुसार भाडाको सिटी रिक्सा(सफारी)को हकमा दर्ता शुल्क ७ सय ५०, आयकर १ हजार ५ सय ५०, रुट इजाजत दस्तुर २ सय ५०, जाँचपास दस्तुर ५०, नामसारी ३ सय ८० र सडक दस्तुर प्रज्ञापन पत्रको २.५ प्रतिशत लिईन्छ । निजीको हकमा दर्ता शुल्क ४ सय ५०, नामसारी २ सय ३० र सडकदस्तुर २.५ प्रतिशत मात्र लिने गरिएको छ । यो बाहेक अन्य एक रुपियाँ पनि खर्च गर्न नपर्ने भट्टराईको दाबी छ । उनले बढी रकम लिने गरेको भन्ने बिषयमा आफूलाई जानकारी नभएको बताए । सिटी रिक्सा चालकहरुका अनुसार मानिस हेरी ८ हजारदेखि १३ हजार रुपियाँसम्म दर्ताका नाममा रकम लिने गरिएको छ । 
 

समन्वय छैन

अन्य सवारी साधन भारतबाट आयत गर्दा भन्सार कार्यालय विराटनगरले यातायात व्यवस्था कार्यालय कोशीसँग समन्वय गर्छ । तर सिटी रिक्सा(सफारी) आयात गर्दा भन्सारले यातायातसँग कुनै खालको समन्वय नै गर्दैन । जसलाई ल्याउन मन लाग्यो, त्यसैलाई सहज तरिकाले ल्याउन दिने व्यवस्थाका कारण सडकको क्षेत्राधिकारभन्दा बढी सिटी रिक्सा(सफारी)हरु पूवी नेपालका सहरहरुका भित्रिरहेका छन् । भन्सारले मात्र नभई सिफारिस गर्ने नगरपालिकाहरुले पनि समन्वय नगरी आफूखुशी सिफारिस दिइरहेको यातायात व्यवस्था कार्यालय कोशी इटहरीका शाखा अधिकृत भट्टराईले बताए । भन्सारबाट प्रज्ञापनपत्र र सम्बन्धित नगरपालिका सिफारिससहित दर्ताका लागि कार्यालय आएकालाई दर्ता गर्दिँन भन्न नमिल्ने उनको भनाई छ । सबै प्रक्रिया पूरा गरेर आएका सवारी साधनलाई दर्ता गरी रुट दिनैपर्ने उनले बताए । 

उनका अनुसार भन्सार विभागले पत्रचार गरी केही समयअघि मात्र सिटी रिक्सा(सफारी) आयात बन्द ग¥यो । त्यसको एक साता नबित्दै फेरी सबै भन्सार कार्यालयलाई पत्रचार गरी फुकुवा ग¥यो । सिटी रिक्सा(सफारी) आयातमा भन्सार विभागको स्पष्ट नीति नभएका कारण धेरै समस्याहरु आइरहेको भट्टराईले बताए । भन्सारबाट जथाभावी सिटी रिक्सा(सफारी) सहरमा भित्रिनु र नगरपालिकाहरुले पनि मनपरी तरिकाले दर्ताका लागि सिफारिस दिएकाले यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुको टाउको दुखाईको बिषय भइरहेको शाखा अधिकृत भट्टराईको भनाई छ । 
 

दर्ता नगरी बिक्री
नियममा सिटी रिक्सा दर्ता गरी रुट इजाजत पाएपछि मात्र सडकमा चलाउनु पर्छ । दर्ता नगरी डिलरले बिक्री गर्न समेत पाउँदैन । तर इटहरी लगायत पूर्वका मुख्य सहरमा रहेका डिलरहरुले दर्ता नगरी भन्सारबाट सिधै डिलरमा ल्याउने र बिक्री गर्दै आएका छन् । ‘लगेर चलाउँदै गर्नुहोस् दर्ता र रुटका लागि चिन्ता गर्नु पर्दैन’ भन्दै बिक्री गर्ने गरेको आफूले समेत पाएको शाखा अधिकृत भट्टराईले बताए । यसैकारण अहिले इटहरी लगायत पूर्वका मुख्य सहरहरुमा दर्ता भएका सिटी रिक्सा(सफारी)कै संख्याको हाराहारीमा दर्ता बिनाका सफारीहरु चलिरहेका छन् । दर्ताबिना सडकमा संचालन भएका सिटी रिक्सा(सफारी)लाई नियन्त्रणमा लिई कानूनी कारबाही गर्ने अधिकार ट्राफिकको भए पनि उसले पनि खासै चासो नराखेको भट्टराईले बताए । 

 

बढी यात्रु बोक्छ 
सिटी रिक्सा(सफारी) दर्ताको बेला यातायात व्यवस्था कार्यालय कोशी इटहरीले चालकसहित ५ जना यात्रु बोक्ने इजाजत दिएको हुन्छ । तर सहरका मुख्य सडक र भित्री सडकमा कुद्ने सिटी रिक्सा(सफारी)हरुले तोकेको भन्दा बढी यात्रुहरु बोक्ने काम गरिरहेका छन् । चालकहरुले पैसाको लोभमा आफ्नो ब्लुबुकमा तोकेको भन्दा बढी यात्रु बोकेर प्रतिदिन जोखिम मोलिरहेका छन् । यतिसम्म कि चालकको दायाँबायाँ समेत यात्रु राखेर सिटी रिक्सा(सफारी) चलाउन गरिएको पाइन्छ । त्यसरी तोकेको भन्दा बढी यात्रु बोकेर सिटी रिक्सा(सफारी) चालकहरुले द्रूत गतिमा जथाभावी सडकमा हिँड्ने गरेका छन् । सडकको दायाँबायाँ नहेरी सिटी रिक्सा(सफारी) कटाउने गर्दा दुर्घटना बढिरहेको छ । ब्लुबुकमा तोकेको भन्दाबढी यात्रु बोकेर जथाभावी सिटी रिक्सा(सफारी) चालकलाई नियन्त्रणमा लिएर कारबाही गर्ने अधिकार ट्राफिक प्रहरीलाई भए पनि आजसम्म कसैलाई कारबाही भएको पाइएको छैन । 

 

रुट इजाजतबाहिर संचालन
पछिल्लो समयमा सिटी रिक्सा(सफारी)लाई व्यवस्थित गर्न नगरपालिका कार्यालयहरुले दर्ताका लागि सिफारिस दिँदा नै रुट इजाजत स्पष्ट रुपमा उल्लेख गर्दै आएका छन् । नगरपालिकाको सिफारिसमा उल्लेख भएकै रुटअनुसार सिटी रिक्सा(सफारी)लाई रुट इजाजत दिने काम यातायात व्यवस्था कार्यालय कोशी इटहरीले दिने गरेको छ । रिक्साको पछाडि स्पष्टसँग रुट लेखिएको हुन्छ । तर यातायात व्यवस्था कार्यालयले तोकेको रुट भन्दा बाहिर गएर सिटी रिक्सा(सफारी)हरु चलिरहेका छन् । आफ्नो रुटभन्दा बाहिर गएर चले पनि कसैले उनीहरुलाई कारबाही गरेको छैन । त्यति मात्र होइन, जुन नगरपालिकाले सिफारिस दिएको हो, सो सिटी रिक्सा(सफारी) सोही नगरपालिका क्षेत्रभित्र मात्र कुद्न पाउने नियम छ । तर कानूनी कारबाही गर्ने निकायले आँखा चिम्लिँदा सिटी रिक्सा चालकहरुले मनलागी सिटी रिक्सा कुदाउँदै आएका छन् । 

 

कमाई ठप्प
पूर्वका नगरपालिकाहरुले आवश्यकभन्दा बढी सिटी रिक्सा(सफारी)को सिफारिस गरेका कारण पूर्वका मुख्य सडक र भित्री सडकहरुमा सिटी रिक्सा(सफारी)को अनावश्यक भीड बढ्दै गएको छ । ऋण गरेर स्वदेशमै गरिखान सिटी रिक्सा(सफारी) खरीद गरेकाहरुको पछिल्लो समयमा कमाई ठप्प भएको छ । दर्ताभन्दा बढी बिनादर्ताका सफारी चल्नाले दर्ता भएका सिटी रिक्सा(सफारी)का चालकहरुको कमाई न्यून हुन थालेको छ । सिटी रिक्सा चालक कृष्ण हलुवाईका अनुसार पहिले दैनिक २ हजारसम्म कमाई हुनेमा अहिले मरेर दिनभरमा १ हजार हुने गरेको छ । जसमा बिजुली खर्च, बैंकको किस्ता तिर्दा नै ठिक्क हुने गरेको छ । दैनिक गुजारा गर्न कठीन हुन थालेको उनले बताए । उनले जुन नगरपालिकाका लागि दर्ता गरिएको हो, उनीहरुलाई त्यही नगरपालिका भित्र मात्र संचालन गर्न यातायात व्यवस्था कार्यालय कोशी इटहरी र ट्राफिक कार्यालयले विशेष ध्यान दिनुपर्ने बताए । 

 

सेवामा सिटी रिक्सा
सिटी रिक्सा(सफारी)ले यात्रुहरुलाई अन्य सवारी साधनले भन्दा राम्रो सेवा प्रदान गरिरहेका छन् । यसलाई थप व्यवस्थित गर्ने हो भने यसको सेवामा शंका गर्ने ठाँउ हुँदैन । नगरपालिका क्षेत्र होस् या सहर बजार क्षेत्रका भित्री गाँउसम्म पुग्ने भएकाले यसले भित्री गाउँका यात्रुहरुलाई सबैभन्दा बढी सेवा दिइरहेको छ । यात्रु होस् या सामान्य सामानहरु ओसारपोसारमा छिटो र छरितो रुपमा सिटी सफारीले सेवा दिइरहेको छ । मधेसी मोर्चाहरुले ६ महिनासम्म तराई बन्द गर्दा सिटी सफारको महत्व बढेको थियो ।  सो बेला रातारात मोर्चाका कार्यकर्ताहरुलाई पैसा खुवाएर भए पनि डिलर संचालकहरुले धेरै संख्यामा सिटी रिक्सा(सफारी) बिक्री गरेका थिए । मधेस बन्दका बेला सिटी रिक्साले इटहरी पूर्व, दक्षिण विराटनगर, पश्चिम इनरुवा, उत्तर धरानसम्म यात्रुहरु ओसार्ने काम गरेका थिए । त्यसबेला यात्रुहरुले रिजर्बमा समेत सिटी रिक्सा प्रयोग गरेका थिए ।  खासगरी विराटनगर विमानस्थल जान र त्यहाँबाट आउन हवाई यात्रा गर्नेहरुले सिटी रिक्सा धेरै प्रयोग गरेका थिए । त्यसबेला सिटी रिक्सा चालकहरुले पनि आफूखुसी भाडा असुलेर राम्रो कमाई गरेका थिए । 

 

युवालाई स्वदेशमै रोजगार
रोजगार नपाएर अहिले पनि धेरै युवाहरु विदेशिरहेका छन् । पछिल्लो समयमा  रोजगारका लागि विदेशीने युवाहरुलाई रोक्ने एउटा राम्रो माध्यम बनेको छ सिटी रिक्सा(सफारी) । १ लाखदेखि ३ लाखसम्म खर्च गरेर विदेशिने युवाहरु पछिल्लो समयमा स्वदेशमै केही गर्ने सोंचका साथ सिटी रिक्सा खरीद गरी चलाउँदै आएका छन् । एक पटक विदेश गएर आएका युवाहरु पनि फेरी नफर्कने शर्तमा सिटी रिक्सा नै खरिद गरी चलाईरहेका छन् । सिटी रिक्सा चलाएर उनीहरुले परिवार चलाइरहेका छन् । सडक सुहाउँदो सिटी सफारी बनाउँदै आएको हुलास मोटर्स प्रा.लि. विराटनगरका बजार प्रबन्धक विरल आर्चायले सिटी रिक्सा(सफारी)लाई व्यवस्थित गर्न आवश्यक रहेको जनाउँदै यसले विकृति मात्र ल्याएको भन्न नमिल्ने बताउँछन् । सिटी रिक्साले स्वदेशमै धेरै युवाहरुले प्रत्यक्ष रोजगार पाइरहेका उनको भनाई छ । नेपालका युवाहरु विदेशिँदा पूर्वी नेपालका मुख्य सहरहरुमा भारतीयहरुले काम गरिरहेका थिए । अब सिटी रिक्सा आएपछि नेपाली युवाहरुले नै काम पाएको आर्चायको भनाई छ ।