काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पाइपलाइनमा रहेका केही प्रडक्ट आए र संस्थागत लगानीकर्ताको संख्या समेत बढ्यो भने नेप्से परिसूचक बढेर ६००० को विन्दूमा पुग्ने दाबी गरेका छन् । 

बिजशालासँग कुरा गर्दै उनले बजारका लागि आवश्यक केही प्रडक्ट ल्याइयो र संस्थागत लगानीकर्ता तथा ब्रोकरको संख्या समेत थपेर बजारको दायरा बढाइएको खण्डमा नेप्से परिसूचक चाँडै ५५०० देखि ६००० को विन्दूसम्म सजिलै पुग्ने दाबी गरेका हुन् । 

‘केही काम भएपछि नेप्से परिसूचक ६००० पुग्यो भने पनि त्यसलाई म चाहिँ सुन्निएको मान्दिँन ।’ नेपाल राष्ट्रबैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलाई काउण्टर दिंदै साउदले भने–‘नेपालको सेयर बजारको भविष्य निकै उज्वल छ ।’ 

दीपेन्द्रबहादुर क्षेत्रीले बिजशालासँग कुरा गर्दै ३२०० पुगेको नेप्सेलाई सुन्निएको भनेका थिए । उनले नेपालको सेयर बजार परिसूचक ७०० सम्म झर्नुपर्ने र त्यो मात्र स्वभाविक विन्दू रहेको दाबी गरेका थिए । 

क्षेत्रीको त्यही भनाईको काउण्टरमा प्रस्तुत भएका नेप्सेका तत्कालीन प्रमुख साउदले प्रविधिको विकास र बजार सुधारका धेरै कामहरुका कारण डिमाण्ड हाई भई बजार परिसूचक समेत माथि माथि चढिरहेको बताए । ‘नेप्से अहिले जुन विन्दूमा छ, त्यसलाई कसैले सुन्निएको भन्छ भने त्यो हास्यास्पद हुन्छ ।’ उनले थपे–‘हिजो ५० वटा ब्रोकरमा सीमित बजारको पहुँच अहिले संसारभर पुगेको छ । सुधारका कामहरु पनि उत्तिकै भएका छन् । यस्तो बेलामा बजार बढेर ३२०० पुग्नु सामान्य हो । बजार अझै माथि जान्छ।’ 

उनले क्यापिटल मार्केटको उचाईलाई कसैले बढी या घटी भन्ने आधार नै नहुने उल्लेख गर्दै पूर्व गभर्नर क्षेत्रीलाई प्रतिप्रश्न गरे–‘भारतको इण्डेक्स ५८ हजार पुगिसक्यो, त्यो पनि सुन्निएकै हो त ? त्यसकारण नेपालको सेयर बजारको इण्डेक्स ३२०० सम्म पुग्नु पूर्ण रुपमा स्वभाविक देखिन्छ । यो बजारबाट सरकारले राजश्व पनि पाएको छ, लगानीकर्ताले पनि कमाएकै छन् । सबै कुरा स्वभाविक नै छ।’ 

उनले बढ्दो बजारमा कम्पनीको प्रतिफल हेरेर लगानी गर्नुपर्ने सुझाव पनि दिए । 

उनले बजारको घटबढलाई आफ्नै लयमै हुन दिनुपर्ने तर्क समेत पेश गरे । ‘कुनै पनि निकायको निर्णयका आधारमा बजार घटबढ हुने भयो भने त्यो पारदर्शी बजार भएन ।’ नेपाल राष्ट्रबैंकले १२ करोड र ४ करोडको सेयर धितोकर्जाको सीमा सम्बन्धी गरेको व्यवस्थातर्फ इंगित गर्दै साउदले भने–‘बजारलाई स्वतन्त्र रुपमा आफ्नै लयमा कुद्न दिनुपर्छ । कसैले प्रभावित पार्नु हुँदैन ।’ 

उनले राष्ट्रबैंकले सेयर धितो कर्जाको सीमा एउटा बैंकबाट ४ करोड र पूरा प्रणालीबाट १२ करोड कायम गर्नु गलत रहेको समेत प्रष्ट पारे । राष्ट्रबैंकले गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले पूँजीबजारमा लगानी गर्ने लिमीट नै फूल कन्जब्सन भएको छैन ।

यस्तो बेलामा सीमा तोक्नुहुन्न थियो ।’ साउदले भने–‘यदि कसैले एउटै बैंकबाट १२ करोड लिएको रहेछ भने ४ करोडमा झार्नुपर्ने भयो । उसँग अरु सम्पत्ति नभएपछि सेयर नै बेच्ने हो, ऊ सेयर बेच्नेतर्फ लाग्यो, जसका कारण सप्लाई बढी भएर बजार केही समय घट्न पुगेको हो ।’ 

उनले ठूला लगानीकर्ताले सेयर बेच्ने हतारो गरेका कारण अहिलेको अवस्था आएको समेत दाबी गरे । ‘ठूलाले बेच्ने हतारो गरे, सानाले नेप्से थाम्न सकेनन् । अहिलेको समस्या यही नै हो ।’ उनले भने–‘२० अर्ब माथि पुगिसकेको कारोबार खुम्चिएर ७ अर्बमा सीमित भएको छ । कम्तीमा सीमाभित्र आफ्नो ऋणलाई झार्नका लागि डेढ वर्षको समय दिनुपथ्र्यो, एकैपटक सीमाभित्र झार्न गाह्रो भयो।’

उनले व्यक्तिगत रुपमा लगानीकर्ताले लागत र लाभको तुलना गरेर राम्रा कम्पनीका सेयरमा छानी–छानी लगानी गर्नुपर्नेमा जोड दिए । 

बैंककोे ब्याजदर बढ्ने हल्लाका कारण समेत लगानीकर्ताको मनस्थिति बिग्रिएको हुनसक्ने उल्लेख गर्दै साउदले भने–‘कतिपयले दशैंतिहारजस्ता पर्वका लागि खर्चको जोहो गर्ने हतारो गर्दा समेत बजार घट्न सहयोग पुग्यो ।’ 

तर, उनले लगानीकर्ता अत्तालिनुपर्ने अवस्था नरहेको दाबी गरे । ‘नेपालको सेयर बजारको भविष्य राम्रो छ । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीको वित्तीय विवरणहरु पनि राम्रै आएका छन् । त्यसकारण बजार घट्यो भन्दैमा अत्तालिने अवस्था छैन ।’ उनले भने–‘राम्रा कम्पनीको सेयर खरीद गरेर केही समयका लागि बस्दा राम्रो हुन्छ । उपयुक्त समय नै अहिले हो ।’ 

अरु देशमा २–३ प्रतिशतसम्म प्रतिफल आउँदा समेत लगानीकर्ता निकै खुशी हुने गरेका उदाहरण दिंदै उनले भने–‘हाम्रोमा त सूचीकृत कम्पनीहरुले त्यो भन्दा कयौं गुणा बढी प्रतिफल दिन्छन् । त्यसकारण हाम्रो बजार माथि जान्छ, धैर्य गरौं ।’

उनले नेप्से परिसूचक अब धेरै तल नआउने आफ्नो प्रक्षेपण समेत सुनाए । ‘मलाई त बजार अब धेरै तल आउँछ जस्तो लाग्दैन, क्रमशः बढ्दै जान्छ ।’ उनले भने–‘तर अब मानिसहरुले राम्रा कम्पनी छान्न बढी केन्द्रीत हुन थाले जस्तो लागिरहेको छ । २–३ दिनको कारोबार विश्लेषण गर्दा समेत यही देखियो ।’

उनले प्रतिसेयर आम्दानी(इपीएस) राम्रा, मूल्य आम्दानी अनुपात(पीई रेसियो) कम भएका कम्पनी छान्न समेत लगानीकर्तालाई सुझाए । ‘अब राम्रा र बलिया कम्पनीको सेयरमूल्य माथि जान्छ ।’ साउदले थपे–‘बजारमूल्य मात्र बढाइएका र इपीएस थोरै तथा पीई धेरै भएका कम्पनीहरुको मूल्य घट्ने संभावना देख्छु ।’