काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । 

इण्डियन आयल कर्पोेरेसन(आइओसी)ले जारी डिसेम्बर महिनाको १५ दिनपछि नै नयाँ मूल्यसूचि पठाएपछि निगमले पेट्रोल, डिजेल र मट्टितेलकै मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसाको दरले बढाएको हो । यसअघि निगमका अधिकारीहरुले जनवरीदेखि मात्र पेट्रोलियम मूल्य बढाउने बताए पनि आइओसीले नयाँ मूल्यसूचि पठाएपछि सोही अनुसार मूल्यवृद्धि गर्न परेको हो । 

अब पेट्रोलको मूल्य १०१ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको नयाँ मूल्य ७७ रुपैयाँ ५० पैसा कायम भएको छ । बढेको मूल्य अनुसार कायम भएको नयाँ मूल्यसूचि आइतबार मध्यरातिदेखि नै लागू हुने नेपाल आयल निगमका प्रवक्ता भानुुभक्त खनालले जानकारी दिए । 

उनका अनुसार प्रति सिलिण्डर ८१ रुपैयाँ भन्दा बढी घाटा भए पनि खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत राखिएको छ । 

तेल उत्पादक तथा निर्यातकर्ता देशहरुको संगठन ओपेक तथा ओपेकमा आबद्ध नभएका देशहरुले समेत तेलको नियमित उत्पादनमा भारी कटौति गर्ने निर्णय गरेसँगै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लागिरहेको छ । प्रति ब्यारेल कच्चा तेलको मूल्य ६० डलर पार गरेकै कारण भारतका सरकारी तेल कम्पनीहरुले दुुई दिनअघि मात्र पेट्रोलियम पदार्थको मूल्य बढाएका थिए । 

भारतमा पेट्रोल प्रति लिटर भारु २.२१ र डिजेल १.७९ ले वृद्धि भएको थियो । 

नेपाललाई आवश्यक पर्ने पेट्रोलियम पदार्थ भारतबाटै आयात गर्नुपर्ने हुँदा त्यहाँको मूल्य घटबढले यहाँ समेत प्रभाव पार्छ । यसको अर्थ भारतमा बढ्दा आयल निगमलाई बढेको मूल्यसूचि पठाइन्छ भने घट्दा सोही अनुसारको मूल्यसूचि आउँछ । 

आइओसीले जनवरी २ सम्ममा अर्को मूल्यसूचि पठाउनेछ । भारतीय मिडियाहरुका अनुसार जनवरी १ मा भारतीय बजारमा कच्चा तेलको मूल्यमा भइरहेको बढोत्तरीले पेटोलियम मूल्य अझै बढ्नसक्ने प्रक्षेपण गरेका छन् । यसको अर्थ जनवरीमा नेपाललाई पठाइने मूल्य सूचि अझ बढेर आउने र पेट्रोलियम पदार्थ प्रति लिटरमा सो बेलासम्म १० रुपैयाँसम्म महङ्गो पर्नसक्ने अनुमान गरिएको छ ।