काठमाण्डौ । पेट्रोल र डिजेलको मूल्य निकट भविष्यमै भारि मात्रामा बढ्ने संभावना देखिएको छ । अन्तराष्ट्रिय बजारमा पछिल्लो दुुई साताको अवधिमा कच्चा तेल(क्रूड आयल)को मूल्यमा १५ प्रतिशतसम्म वृद्धि भएपछि यस्तो अवस्था आउने लगभग निश्चित भएको हो । 

मूल्यमा भएको यो वृद्धिसँगै भारतले खरीद गर्ने कच्चा तेल महंगिने र उसले रिफाइन गरी नेपाल पठाउने पेट्रोल डिजेलको मूल्य पनि स्वतः बढ्ने देखिएको हो । 

सन् २००१ पछि तेल निर्यातकर्ता देशहरुको संगठन ओपेकमा पहिलोपटक उत्पादन कटौतिको सहमति भएको छ । नन–ओपेक देशहरुले समेत उत्पादन घटाउने निर्णय गरिसकेका छन् । यी दुुई निर्णयका कारण कच्चा तेलको मूल्य अझै माथि जानसक्ने संभावना छ । यसले भारतले खरीद गर्ने कच्चा तेलको मूल्य बढ्ने र त्यहाँबाट रिफाइन भएर नेपाल आउने पेट्रोलियम पदार्थको मूल्य समेत फराकिलो अन्तरले वृद्धि हुनसक्ने देखिएको हो । 

भारतका सरकारी तेल मार्केटिङ कम्पनीले कच्चा तेलको मूल्यमा भएको वृद्धिकै कारण प्रति लिटर पेट्रोल र डिजेलको मूल्यमा भारु ६ रुपैयाँसम्म वृद्धि हुनसक्ने अनुमान गरेका छन् । यो अनुमान सही साबित भयो भने नेपालमा समेत पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर ५ देखि १० रुपैयाँसम्म वृद्धि हुुनसक्ने अवस्था देखिएको नेपाल आयल निगमका एक अधिकारीले बिजशालालाई जानकारी दिए । ‘अब हामीले पेट्रोलियम पदार्थमा सहुलियत दिने अवस्था छैनौ, इण्डियन आयल कर्पोरेसनले बढाएर पठाएको मूल्य सूचि अब चाहि हुुबहु लागूू गर्नुको अर्को विकल्प हामीसँग छैन ।’–ती अधिकारीले भने । यो बढोत्तरीले खाना पकाउने एलपीजी ग्यास अझै महंगो हुनसक्छ । कारण, आयल निगमलाई अहिले नै पनि एलपीजी ग्यासमा प्रति सिलिण्डर ८१ रुपैयाँ घाटा रहेको ती अधिकारी बताउँछन् । 

२०१४ जूून महिनामा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११५ डलर थियो । यो मूल्य यो वर्षको फेब्रुुअरीमा ३० डलरको स्तरमा झरेको थियो । पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालजस्तो देशको अर्थव्यवस्थालाई निकै ठूलो फाइदा पुुगेको थियो । तर केही विश्लेषकहरुले भने नोटबन्दीका कारण सास्ती भोगिरहेका भारतीय जनताको ढाड सेकिने गरी प्रति लिटरमा एकैपटक ६ रुपैयाँ मूल्य वृद्धि गर्न सरकारले अनुुमति नदिनसक्ने र ३ देखि ४ रुपैयासम्म मात्र वृद्धि भए त्यसले नेपालमा पनि सोही अनुसारको मूल्यमा राहात हुनेछ ।