काठमाण्डौ । नेपालमा हाल पेट्रोल प्रति लिटर १०१ रुपैयाँ ५० पैसा छ । तर, आगामी पाँच वर्षभित्र पेट्रोल प्रति लिटर ४५ रुपैयाँ वा त्यो भन्दा पनि कम मूल्यमा पाउन सकिनेछ । विश्वमा भित्रिएको नयाँ प्रविधिका कारण पेट्रोल र डिजेलमा विश्वको निर्भरता कम हुनेछ, जसका कारण पेट्रोलको मागमा अत्यासलाग्दो गिरावट आई मूल्य समेत निकै सस्तो हुने अन्तर्राष्ट्रिय क्षेत्रको खोजकर्ता तथा विश्लेषकहरुले दाबी गरेका छन् । 

अमेरिकी विश्लेषक टोनी सेवालाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमहरुले लेखे अनुसार पेट्रोलको मूल्यमा ५ वर्षपछि नसोचेको गिरावट आउने छ । टोनीले केही वर्षअघि सोलार पावरको मागमा तीव्र उछाल आउने भविष्यवाणी गरेका थिए । उनको यो भविष्यवाणी आज मिलिसकेको छ । जुन बेला टोनीले सोलार पावरको माग उच्च हुने भविष्यवाणी गरेका थिए, त्यसबेला सोलारको मूल्य आजको भन्दा १० गुणा बढी थियो । 

सिलिकन भ्यालीका विश्लेषक टोनी व्यवसायिकता र क्लिन इनर्जी बिषयका निर्देशक समेत हुन् । सोलार इनर्जीको बिषयमा उनले गरेको भविष्यवाणी जसरी मिल्यो, के पेट्रोलको बिषयमा गरिएको भविष्यवाणी पनि मिल्ला ? उनको भविष्यवाणीलाई मात्र आधार मानेर विश्वास गरिहाल्न गाह्रो पर्ला, तर उनले जसरी तथ्यांक नै पेश गरेर दाबी गरेका छन्, त्यसलाई पनि नकार्न सकिने ठाउँ छैन ।

टोनीका अनुसार सेल्फ ड्राइभ कारको तीव्र गतिमा बढेको मागका कारण तेलको मागमा तीव्र गिरावट आउनेछ र त्यसबेला पेट्रोलको मूल्य प्रति ब्यारेल २५ डलरको स्तरमा झर्नेछ । 

सिएनबीसी च्यानलमा कुरा गर्दै उनले भनेका छन् कि सन् २०२० देखि २०२१ सम्म तेलको माग निकै उच्च हुनेछ । त्यसको १० वर्षपछि तेल उत्पादनको तथ्यांक अहिलेको दैनिक १०० मिलियन ब्यारेलबाट झरेर ७० मिलियन ब्यारेलसम्म आइपुुग्नेछ । यसपछि कच्चा तेलको मूल्य तीव्र रुपमा झरेर प्रति ब्यारेले २५ डलरको स्तरमा आइपुुग्नसक्नेछ । 

टोनीका अनुसार त्यसबेलासम्म मानिसहरु पुरातन कारको प्रयोग गर्न त कम गर्दैनन्, तर इलेक्ट्रिक कारको प्रयोग तीव्र गतिमा बढ्नेछ । त्यसबेलासम्म इलेक्ट्रिक कारको मूल्य र यसको संचालन खर्च समेत निकै कम हुनेछ, जसले पेट्रोल–डिजेलबाट चल्ने कारको महत्व घटाउनेछ र सँगै डिजेल पेट्रोलको खपत तथा मागलाई पनि ।

यसअघि टोनीले भविष्यवाणी गर्दै भनेका थिए कि सन् २०३० सम्म विश्वका ९५ प्रतिशत मानिसले व्यक्तिगत रुपमा कार राख्न बन्द गरिदिनेछन् । यसबाट अटोमोवाइल इण्डष्ट्री नै धरापमा पर्ने उनको दाबी छ । उनले इलेक्ट्रिक कार इण्डस्ट्रीले ग्लोबल आयल कार इण्डष्ट्रीलाई ध्वस्त बनाइदिने दाबी समेत गरेका छन् । स्मरणरहोस्, यही संभावनालाई मध्यनजर गर्दै विश्वका अधिकांश देशहरुले इलेक्टिक कारको आयात, उत्पादन तथा प्रयोगमा जोड दिएका छन् । नेपालमा समेत विद्युतको उत्पादन बढाएर पेट्रोलियम पदार्थको निर्भरतालाई कम गर्ने सरकारले नीति नै लिएको छ । हालै प्रस्तुत बजेटमा समेत एलपीजी ग्यास नै विस्थापन हुने गरी बिजुलीको उत्पादन र प्रयोग गर्ने एजेण्डा समावेश गरिएको छ । विश्वका विभिन्न देशहरुको इलेक्ट्रिक उत्पादनप्रतिको आशक्ति तथा पेट्रोल डिजेलप्रतिको निर्भरता कम गराउने रणनीतिको अध्ययन गर्दा टोनीको भविष्यवाणी फेल खाने अवस्था देखिन्न ।