काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्यमा ठूलो गिरावट आउनसक्ने देखिएको छ । अन्तर्राष्ट्रिय बजार विश्लेषकहरुले कच्चा तेलको बढ्दो मूल्यमा गिरावट आउनसक्ने प्रक्षेपणहरु सार्वजनिक गर्दै यसले नेपालजस्तो देशमा समेत प्रभाव पर्ने र पेट्रोलियम मूल्य अझ तल झर्नसक्ने बताएका हुन् । 

अन्तर्राष्ट्रिय क्षेत्रमा कच्चा तेलको उत्खनन् अचाक्ली बढिरहेको छ, तर त्यसको तुलनामा माग बढेको छैन । यही कारणले आगामी दिनमा क्रूड(कच्चा तेल)को मूल्यमा भारी गिरावट आउनसक्ने प्रक्षेपण गरिएको छ । अन्तर्राष्ट्रिय उर्जा एजेन्सीले क्रूडमा गिरावटको प्रक्षेपण सार्वजनिक गरिसकेको छ । यस बाहेक तेल उत्पादक देशहरुको संगठन ओपेकको रिपोर्टमा सन् २०१६ मा कच्चा तेलको माग बढ्ने कुनै संभावना देखाइएको छैन । 

ओपेकको पछिल्लो तथ्याङ्क अनुसार जुन महिनामा ओेपेकको सबैभन्दा ठूलो तेल उत्पादक देश साउदी अरेबियाले आफ्नो दैनिक उत्पादन ६६ हजार ५ सय ब्यारेल बढाएर १ करोड ब्यारेल प्रतिदिन पुर्याइसकेको छ । यसैगरी, ओपेक सदस्य नरहेको रुसको जुन महिनामा निर्यात ४९ प्रतिशत बढेको छ । रुसको इनर्जी डिपार्टमेन्टको तथ्यांक अनुसार मई महिनामा रुसले ५५.५ लाख टन कच्चा तेल निर्यात गरेको थियो । यो परिणाम जुनमा बढेर १ करोड ८ लाख टन पुगेको छ । मार्केट सेयर बढाउनका लागि पछिल्लो समय ओपेक सदस्य राष्ट्र र यसको सदस्य नभएका राष्ट्रबीच तीव्र प्रतिस्पर्धा समेत चलिरहेको छ । यसले समेत कच्चा तेलको मूल्यमा गिरावट आउने देखिन्छ । 

अन्तर्राष्ट्रिय उर्जा एजेन्सी(आइएईए)ले आफ्नो ताजा रिपोर्टमा भनेको  छ कि मध्यपूर्वमा क्रूडको बढ्दो उत्पादन समग्र कच्चा तेलको मूल्यका लागि ठूलो चुनौति बन्नसक्छ । आफ्नो मासिक रिपोर्टमा उसले हाल कच्चा तेलको उत्पादन माग भन्दा ६० प्रतिशत बढी भइरहेको दाबी गरेको छ । 

उता, क्यानडाको तेल उत्पादन समेत सामान्य अवस्थामा फर्किसकेको छ । त्यहाँ ठूलो आगलागी भएका कारण तेलको उत्पादन ठप्प बनेको थियो । यसका कारण ग्लोबल मार्केटमा १५ लाख ब्यारेल प्रति दिन क्रूडको आपूर्ति कम भएको थियो । यसले समेत ग्लोबल मार्केटमा क्रूडको मूल्य बढेको थियो । तर अहिले क्यानडाको जंगलमा लागेको आगो पूर्ण रुपमा नियन्त्रण भइसकेको छ र उत्पादन समेत सामान्य अवस्थामा फर्किसकेको छ । यो कारणले समेत आगामी दिनमा कच्चा तेलको मूल्यमा दवाब पर्नसक्ने आँकलन गर्न थालिएको छ । 

नेपाललाई फाइदा
कच्चा तेलको मूल्यमा गिरावट आएसँगै नेपालको आन्तरिक बजारमा समेत पेट्रोलियम पदार्थको मूल्य घट्नेछ । यसले महङ्गी दरमा केही भए पनि करेक्सन हुने विश्लेषकहरु बताउँछन । पेट्रोलियम पदार्थको मूल्य घट्नु भनेको ढुवानी र यातायातको शुल्क समेत घट्नु हो । यसले बजारमा बढ्दो र अनियन्त्रित महङ्गी नियन्त्रणमा केही भए पनि सहयोग पुग्नेछ । विश्लेषकहरुले कच्चा तेलको मूल्य प्रति ब्यारेल ३८ डलरसम्म झर्नसक्ने बताएका छन् । यसले भारतजस्तो देशमा पेट्रोलियम मूल्य निकै तल आउनसक्ने र भारतबाट नेपालले पेट्रोलियम पदार्थ आयात गर्ने भएकोले त्यसको सकारात्मक प्रभाव नेपाली बजारमा समेत पर्नसक्ने देखिन्छ । कच्चा तेलको मूल्य घट्दा पेट्रोलियम पदार्थहरु जस्तै, पेट्रोल, डिजेल, एलपीजी ग्यासको मूल्य त कम हुन्छ नै पेट्रोलियम पदार्थको प्रयोग गरी हुने उत्पादनहरुको लागत समेत घट्नेछ । यातायात क्षेत्रको भाडादर समेत सस्तिनेछ ।