काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

खाना पकाउने ग्याससहित अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । 

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ भने खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ र हवाई इन्धनमा प्रति लिटर ४ रुपैयाँ मूूल्य घटाइएको छ। 

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रति लिटर ९८ रुपैयाँमा पाइनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर ७४ रुपैयाँमा पाइनेछ । 

यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १ हजार ३ सय ५० कायम भएको छ । 

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब हवाई इन्धन प्रतिलिटर ८२ रुपैयाँ मूल्य कायम भएको छ । अन्तराष्ट्रियतर्फको मूल्य प्रतिलिटर ७३ रुपैयाँ कायम भएको छ । 

आयल निगमका प्रवक्ता सीताराम पोखरेलका अनुसार मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ३० पैसा नाफा रहेको छ । डिजेलमा प्रतिलिटर १.५० रुपैयाँ, मट्टितेलमा १८ रुपैयाँ, हवाई इन्धनमा १० रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ३९ रुपैयाँ नाफा रहेको छ ।