काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । 

बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । 

बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ पुगेको छ । 

आयल निगमले प्रत्येक १५ १५ दिनको अवधिमा इण्डियन आयल कर्पोरेसनले पठाउने मूल्यसूचिका आधारमा पेट्रोलियम मूल्य समायोजन गर्दै आएको छ । 

नेपाल आयल निगमले यसअघि नेपाल सरकार तथा निगम संचालक समितिको ०७१ सालको निर्णय बमोजिम कार्यान्वयन हुँदै आएको स्वतः संचालित मूल्य संरचना अनुरुप आइओसीबाट १६ मे २०१८ देखि लागू हुने गरी प्राप्त पेटोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय मूल्यका आधारमा पेट्रोल, डिजेल र मट्टितेलको घरेलु बिक्री मूल्य बढाइएको बताएको छ।

मूल्यवृद्धिपछि निगमको अर्धमासिक नाफा वा घाटा शून्य हुने र मूल्य समायोजन नगर्दा मासिक रुपमा करिब ३२ करोड घाटा हुने दाबी निगमको छ । 

कच्चा तेलको मूल्यको वृद्धि रोकिएको छैन । २०१८ मे १ मा अन्तराष्ट्रिय बजारमा कच्चा तेल प्रति ब्यारेल ७३ अमेरिकी डलर रहेको थियो, जबकि मे १५ मा ७८ डलर प्रति ब्यारेल पुगेको छ । यस्तै, १ अमेरिकी  डलरको सटहीदर १५ दिनअघि १०६ रुपैयाँ रहेकोमा बुधबार १०९ भन्दा माथि पुगिसकेको छ । यहीकारण समेत पेट्रोलियम पदार्थको मूल्य बढेको निगमको प्रष्टीकरण छ ।

मूल्य समायोजनपछि पेट्रोलमा निगमलाई प्रतिलिटर ७२ पैसा नाफा हुने र डिजलमा अझै प्रतिलिटर २ रुपैयाँ २९ पैसा घाटा हुनेछ । मूल्य समायोजनपछि नेपालको वीरगञ्ज र भारतको रक्सौल सीमामा पेट्रोल प्रतिलिटर २० रुपैयाँ ६६ पैसा र डिजेल प्रतिलिटर २३ रुपैयाँ ६५ पैसाले नेपालतर्फ  अझै सस्तो हुने देखिएको छ ।