काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले डिसेम्बर १ अर्थात मंसिर १५ गतेबाट लागू हुने गरी नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ सूची पठाएको छ। तर, निगमले भने घाटा नै रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन तयार नरहेको देखिएको छ। 

निगमका अनुसार डिसेम्बर १ मा आईओसीले पठाइएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५.६५ रुपैयाँ र डिजेल प्रतिलिटर ३.६२ रुपैयाँ घटेर आएको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि नेपालमा भने घटाउन नसकिने निगमले स्पष्ट पारेको छ। 

पेट्रोल र डिजेलको मूल्य सामान्य घटे पनि खाना पकाउने एलपी ग्यासको मूल्य झन् बढेकोले घाटा यथावत नै रहेको निगमको भनाइ छ। ग्यास प्रतिसिलिन्डरमा ९२.२० रुपैयाँ बढेर आएको निगमले जनाएको छ। 

नेपालमा हाल पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १३६ रुपैयाँ, डिजेल र मट्टीतेलको प्रतिलिटर ११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ५७५ रुपैयाँ तोकिएको छ।

बिक्री–वितरणका आधारमा १५ दिनमा पेट्रोलमा मात्रै ३२ करोड ७२ लाख रुपैयाँ र डिजेलमा ५० करोड ७२ लाख रुपैयाँ घाटा हुने निगमको अनुमान छ। ग्यासमा १ अर्ब २६ करोड २० लाख रुपैयाँ घाटा हुने निगमद्वाराजा विज्ञप्तिमा उल्लेख छ। ‘समग्रमा १५ दिनमा करिब १ अर्ब ९५ करोड घाटा हुने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ। 

निगमका अनुसार पेट्रोलियम पदार्थको बजारमूल्यअनुरुप नेपाल र भारतको स्थानीय बजारमा समायोजित पछिल्लो मूल्य स्थितिअनुरुप भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपाली सिमा बजार वीरगन्जमा पेट्रोल प्रतिलिटर ३७.४२ रुपैयाँ सस्तो र डिजेल ३०.५४ रुपैयाँ सस्तो र खाना पकाउने ग्यँस प्रतिसिलिन्डर ५०.६५ रुपैयाँ सस्तो रहेको छ।