काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्यमा तीव्र गिरावट आइरहेको बेला आयल निगमले समेत पेट्रोल डिजेलको मूल्य घटाएको हो । 

निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको छ । नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँँ, पेट्रोल १०६ रुपैयाँमा पाउनेछन् । 

निगमले हवाई इन्धन आन्तरिकतर्फको मूल्य ४ रुपैयाँ ५० पैसा प्रतिलिटरमा घटाएको छ । योसँगै हवाई इन्धन आन्तरिकतर्फको मूल्य ९० रुपैयाँ प्रतिलिटर कायम भएको छ । 

निगमले एलपीजी ग्यास र हवाई इन्धन अन्तराष्ट्रियको मूल्य भने यथावत राखेको छ ।