काठमाण्डौ । अमेरिकी डलरको भाउमा अचाक्ली भएको वृद्धिसँगै भारतबाट आउने तेलको भाउ समेत बढेपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । 

बुधबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा सबैभन्दा कम प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ ३ रुपैयाँको दरले मूल्य बढाएको हो । 

यो पटक निगमले खाना पकाउने एलपी ग्यासको मूल्य समेत बढाएको छ । प्रतिसिलिण्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो । अन्तराष्टिय बजारमा मूल्य बढे पनि सरकारले सर्वसाधारणको चुल्हो महगिंने भन्दै ग्यासमा भने लामो समय मूल्य बढाएको थिएन । 

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार नयाँ मूल्यसूचि अब एक लिटर पेट्रोललाई ११२ रुपैयाँ पर्नेछ भने एक लिटर डिजेल र मट्टितेललाई ९८ ९८ र खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १४ सय रुपैयाँ पुगेको छ ।

समायोजित मूल्य बुधबार मध्यरातिदेखि नै लागू हुनेछ । 

इण्डियन आयल कर्पोरेसनबाट सेप्टेम्बर १ मा प्राप्त नयाँ मूल्य सूचिका कारण इन्धनको मूल्यमा वृद्धि गर्नुपरेको निगमका अधिकारीहरुले दाबी गरेका छन् । 

अमेरिकी डलरको भाउमा भएको अचाक्ली वृद्धि भएको र त्यसले भारुको अवमूल्यन भई इन्धनको मूल्य बढ्न दवाब पुगेपछि त्यसको असर नेपालमा बिक्रीवितरण हुने इन्धानको मूल्यमा समेत परेको निगमको दाबी छ ।