-भक्तराज रसाइली
काठमाण्डौ । सेयर बजारको ग्लामरस छविका कारण यो क्षेत्रमा धेरैको आशक्ति हुन्छ । कतिपय विद्यार्थी कालमा त कतिपय जागिर जीवनमै सेयर बजारमा आएको भेटिन्छ । उसो त जागिरे जीवनबाट रिटायर्ड भएपछि पनि सेयर बजारमा लगानीकर्ताका रुपमा सक्रिय रहनेको संख्या पनि उल्लेख्य बढ्दै गइरहेको छ । विद्यार्थीकालदेखि आइपीओबाट सुरुवात गर्दै कानूनका विद्यार्थी हाल पनि सेयर बजार भनेपछि भुतुक्कै हुने एक पात्रको रोचक स्टोरीलाई यो साता बिजशालामा कैद गरेका छौं । 

कालो कोटमा ठाँटिएर हिँड्ने र आफूलाई वकिल र सेयर लगानीकर्ताका रुपमा परिचय दिन रुचाउने पात्र हुन्, कञ्चनकृष्ण न्यौपाने । न्यौपाने विगत २६ वर्षदेखि सेयर बजारलाई नजिकबाट नियालिरहेका र लगानी गर्दै आएका कारण आफूलाई सेयर विश्लेषक पनि भन्न रुचाउँछन् । 

भक्तपुर दधिकोटलाई नै पुख्र्यौली वा स्थायी बसोबास बनाउँदै आएका न्यौपाने बैंकिङमा एलएलएमका विद्यार्थी र राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण हुन् । सानैदेखि वकालत गर्ने रहरका कारण वकिल पेशा अँगालिरहेका उनी साथीभाइसँग जमघटका लागि डिल्लीबजार जाँदाआउँदा सेक्युरिटी खरिदबिक्री केन्द्रमा सेयर किनबेच भइरहेको देख्दा यसप्रति रुचि जाग्दै गएको उनको विगत छ ।

नेपाल ल क्याम्पसमा २०४९ सालमा स्नातक तहका विद्यार्थी न्यौपानेले आफ्ना बुबाका साथीबाट सेयर बजारबारे थप विषय बुझ्ने मौका पाएका थिए ।

बुबाका साथी डाक्टर तर सेयर बजारबारे ज्ञान भएकाले उनलाई थप सहयोग मिल्यो । विद्यार्थीकालमा पैसाको अभाव तर, सेयरमा लगानी गर्न भनेपछि उनकै बुवाले हातमा दशहजार थमादिएका थिए रे । 

हिमालयन बैंकको आइपीओबाट सेयर बजारमा छिरेका उनले ७५ कित्ता हातमा थापे । त्यसपछि निर्धन उत्थान, एसबीआई बैंक लगायतका आइपीओहरु भर्दै गएका न्यौपानेले हिमालयन बैंकको आइपीओपछि बोनस र हकप्रद जोडदै २५० कित्ता २०५७ सालमा ३ लाख रुपैयाँमा बेचेछन् । जम्मा ७ हजार ५०० रुपैयाँको लगानी ३ लाखमा बेचेर मनग्यै आम्दानी भएको देखेरै उनका बुबाले थप हौसला दिएछन् र सेयरमै लगानी गर्न सुझाएछन् । ‘हिमालयनले त्यसबेला ३०–४० प्रतिशत बोनस दिन्थ्यो।’ उनले विगत सम्झँदै भने –‘मैले २०५१ सालमा मात्र दोस्रो बजार प्रवेश गरेको हुँ ।’

सेयरबाटै भएको कमाइ बोकेर न्यूरोडतिर न्यौपाने हानिन्छन् । अनि नेको इन्स्योरेन्स, निर्धन उत्थान, छिमेक लघुवित्तका सेयरहरु क्रमशः ५० कित्ता प्रतिसेयर मूल्य रु ११०, सय कित्ता सेयर प्रतिकित्ता १३० रुपैयाँ र १५० कित्ता प्रतिकित्ता १४० रुपैयाँमा न्यौपानेले खरिद गर्दै दोस्रो बजारमा पाइला चाले ।

वि.सं.२०५२–५३ ताका जीवन निर्वाहका लागि न्यौपानेले कम्युनिकेसन सेन्टर खोल्न पुगे । त्यतिबेला निकै राम्रो कमाइ गरेका उनले सेयर किन्नैतर्फ ध्यान दिए । अनि नशा नै थियो, त्यही भएर कम्युनिकेसनको कमाइसमेत उनले सेयर लगानीमै खन्याए ।

सेयरमा लगानी गर्दै गर्दा २०५६ सालमा न्यौपानेले कानून व्यवसायीको लाइसेन्स लिन भ्याए । त्यसको एकवर्षपछि २०५७ सालमा मार्केट बूम पनि भयो । उनी भन्छन्–‘पैसा मस्त कमाएँ पोर्टफोलियो त ख्यालख्यालमै ६० लाख पुगिसकेछ । पोर्टफोलियो बढेको देखेर म लोभिन पुगेँ अझै बढ्छ जस्तो लाग्यो र मैले सेयर बेचिँन र चूकेँ ।’

सेयरलगानीबाटै उनले पैसा मज्जैले कमाइरहेका थिए । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको आइपीओमा हालेको ६ लाख गुमाएका न्यौपाने क वर्गमा जाने हल्लाका कारण लोभिन पुगे । हकप्रद १ को १.५ पनि भरे, तर भरेको १५ दिनपछि घोटला काण्ड एकाएक बाहिरियो र समस्याग्रस्त घोषित भयो । नजिकैको धेरै फाइल देखाउँदै उनले भने–‘अहिले पनि त्यो  सर्टिफिकेट मसँगै छ । अहिले त त्यो केबल सिरानी हालेर सुत्ने गरेको छु ।’ 

बजार झर्दै गयो, सेयरमा डुबेपछि २०५७ सालको बजार क्र्यास भएपछि उनी वकालतका लागि मोडिए । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको २२ सय प्रति कित्तामा किनेको सेयर उनले बजार क्र्यास भएपछि ६७ रुपैयाँ प्रतिकित्ता बेचेछन् ।

सेयर बजारबाटै मालामाल बनेका न्यौपाने बजारमा लाखौं रुपैयाँ डुबेपछि अन्ततः २०५९ सालदेखि वकालत पेशामा छिरे । सेयरको नशा चढिसकेको थियो बानी त कताबाट सुध्रनु, न्यौपानेले वकालतबाट कमाएको पैसा पनि पुनः सेयरमा लगानी गर्न थाले । समय बित्दै गयो, २०६५ सालमा बजार बूम भयो । अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सिन्छ भन्ने उखान उनको जीवनमा लागू भयो । यो बूमलाई भने उनले सदुपयोग गरे । २०६५ सालमा आएको सेयर बजारको उछालले डुबेको पैसा न्यौपानेले रिकभर गर्न सफल बने ।

यता वकिल पेशा पनि गर्दै आएका न्यौपानेले सार्वजनिक र समसामयिक विषयहरुमा वकालत गर्दै चिनारी स्थापित गर्दै अघि बढे, अनि वकालत पेशाबाटै पनि पैसा मनग्यै कमाउन थाले । बजार घट्ने क्रम थियो, २०६८ सालदेखि उनले सेयर खरिद गर्न थाले । सहकर्मी वकिलहरु जग्गा किन्दा रहेछन्, तर सेयरको नशा चढेका उनले भने सेयर किनेछन् । दुईपटक डुबिसकेका उनले २०७३ सालको बूममा भने सेयरबाट पैसा मज्जाले नै निकालेछन । पोर्टफोलियो पनि परिवर्तन गर्दै बैंक र माइक्रोमा सिफ्ट गर्न भ्याएका उनी अहिले पुनः बजारले बुल समातेको जिकिर गर्छन् । 

हाल वकिल पेशा र सेयर लगानीकर्ताका रुपमा खरो उत्रिएका न्यौपाने दुई पेशामै रमाइरहेको सुनाउँछन् । सेयर बजारको २६ वर्षे यात्रामा उनले धैर्यधारण, सहनशीलताको पाठ सिकेको अनुभव बताए । ‘सेयर लगानी गर्दै आएका कोही साथीभाइ बिदेश पलायन भए त कोही कता गए।’उनले भने –‘मलाई सपोर्ट भने वकिल पेशाले नै गर्यो । म विचलित भइँन । वकालतभन्दा सेयरको कमाइ राम्रो छ ।’ 

न्यौपानेको सेयर बजारमा २६ वर्षको यात्रामा २ रोपनी जग्गा र ३ तले घर सेयरकै कमाइ भएको उनको दाबी छ ।

दीर्घकालीन लगानी गर्नुपर्ने सल्लाह दिएका न्यौपाने भन्छन्–‘पार्टटाइम वा साइड काम गरे सेयरमा नडुबिने रहेछ ।’ बैंकिङ इण्डेक्स बढे नेप्से परिसूचक ३५ सय विन्दू पार गर्ने उनको जिकिर छ ।

पूँजीबजारसँग सम्बन्धित नियामक निकायहरु गैरजिम्मेवार भएको आरोप लगाउँदै न्यौपाने भन्छन्–‘नीतिगत स्थिरताको चूनौती व्यापक छ । यति मात्र हैन सेबोन र नेप्सेको टसलकै कारण अर्को चूनौती खडा भएको देखिन्छ ।’

आम लगानीकर्ताहरु समेट्न बैंकलाई ब्रोकर लाइसेन्स दिइनुपर्ने धारणा राखेका न्यौपाने सुशासन भएका बैंकहरुले ब्रोकर लाइसेन्स पाएमा जनताप्रति थप विश्वास बढ्ने सुनाउँछन् ।

हाल नेप्से परिसूचक लगभग बियरिसको अन्त भई बुलिसको यात्रामा उकालो लागेको उल्लेख गर्दै न्यौपाने आगामी दुई वर्षभित्र कायापलट हुने दाबी गर्छन् ।