काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले नेपालको आर्थिक विकासमा नागरिक लगानी कोष (सीआईटी) ले भूमिका खेल्न सक्ने बताएका छन्।

आज नयाँबानेश्वरमा नागरिक लगानी कोषको ३२ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन्। ‘अहिलेको देशमा १७ खर्बदेखि २० खर्ब रुपैयाँ लगानीको खाँचो छ’, उनले भने, ‘नागरिक लगानी कोषको १ खर्ब ५ अर्ब पैसा बैंकका डिपोजिट छ। त्यो पैसा आर्थिक विकास लागि लगानी गर्न कोषले परिचालन गर्न आवश्यक छ।’

अहिले नागरिक लगानी कोषले त्यही पैसाको ब्याजबाट बाँचिरहेको पनि शर्माले उल्लेख गरे।  

‘तर त्यो पैसा लगानी होस्’, उनले भने, ‘लगानीयोग्य रकम पनि पुँजी निर्माण हुने क्षेत्र र जीडीपी बढाउने क्षेत्रमा परिचालन होस्।’ 

अर्थमन्त्री शर्माले नागरिक लगानी कोषजस्तै अन्य कोष पनि आवश्यक रहेको बताए। ‘त्यसका लागि डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड बनाएर ठूला परियोजनाका लागि पुँजी जटाउने विषयमा अध्ययन भइरहेको छ’, उनले भने। 

विदेशमा रहेका नेपालीलाई पनि नेपालमा लगानी गर्ने वातावरण बनाउने नीति ल्याउन अध्ययन भइरहेको पनि शर्माले बताए। ‘विदेशमा पसिना चुहाएर कमाएको पैसा स्वदेशमा लगानी गर्दा उचित प्रतिफल पाउनुपर्छ’, उनले भने, ‘त्यस्तो वातावरण बनाउन सरकार लागिपरेको छ।’

लगानीमार्फत रोजगारी सिर्जना र आर्थिक वृद्धि हुने शर्माले बताए। ‘तर, अहिले लगानीको वातावरण बनेको छैन। पुँजी कता हराइरहेको छ ?’, उनले प्रश्न गरे।  

प्राविधिकका कारण पनि पुँजी हरारहेको हुन सक्ने अर्थमन्त्री शर्माको भनाइ छ। ‘बजारबाट पैसा कता हराइरहेको छ, म खोज्छु’, उनले भने, ‘सिरानीमुनि त छैन, निष्क्रिय त भएको छैन पुँजी, खोज्ने प्रक्रियामा छु।’