काठमाण्डौ । पर्यटकीय नगरी पोखराका व्यावसायिक पसलहरुमा अब मेगा बैंक नेपाल लिमिटेडको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने भएको छ। 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुंगामा रहेको घामपानी बजारका साथै लामाचौर, हेम्जाका विभिन्न स्थानमा रहेका पसलहरुबाट सामान खरिद गरेर मेगा बैंकको क्यूआर कोडबाट भुक्तानी गरी यो सेवाको सुरुआत गरेका हुन्। उक्त अवसरमा नेपाल राष्ट्र बैंक पोखराका प्रमुख निर्देशक ईश्वरीप्रसाद भट्टराई, सहायक निर्देशक धनञ्जय पराजुली, मेगा बैंक नेपाल लिमिटेडका प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, प्रदेश कार्यालयका बजार विभाग प्रमुख लेखनाथ गौतम, नायब प्रदेश प्रमुख राजेन्द्र कोइरालाको उपस्थिति थियो। 

यो ब्यवस्थासँगै पोखराका उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत सामान खरिद गरेको रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन्। नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगदरहित कारोबारलाई बढावा दिने नेपाल राष्ट्र बैंकको नीतिबमोजिम मेगा बैंकले क्यूआर कोड सेवाको बिस्तारलाई तीव्रता दिइरहेको छ। क्यूआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताको आर्कषण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैंकले जनाएको छ। 

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित बैंकिङ सेवा सञ्चालन गर्दै आएको मेगा बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई डिजिटल माध्यमबाट पूर्ण रुपमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले टिक बैंकिङ, भिडियो अकाउन्ट ओपनिङ, वीच्याट–पे, च्याटबटजस्ता प्रविधिमा आधारित सेवालाई महत्व दिई संचालनमा ल्याएको छ।