काठमाण्डौ । पोखराको सेती खोँचमा आइतबार बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी कार्य रातभर हुने भएको छ।

अहिलेसम्म ६८ जनाको शव फेला परेको छ। तीमध्ये ४७ जनाको शव गण्डकी अस्पतालमा पुर्याइएको छ भने बाँकी बाँकी २१ शव पनि अस्पतालमा पुर्याउने तयारी भइरहेको कास्की प्रहरीले जनाएको छ। हालसम्म १२ जनाको सनाखत पनि भइसकेको छ। 

अझै चार बेपत्ता बेपत्ता छन्। उनीहरुको खोजी कार्य राति पनि गरिने भएको हो। घटनास्थलमा अहिले सयौँको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली उद्धारका लागि खटिएका छन्। काठमाण्डौबाट गएको सशस्त्र प्रहरीको गोताखोरको टोली खोजीमा खटिएको छ। बेपत्ताहरुको खोजीका लागि क्रेन सहायता पनि लिइएको छ। 

प्रहरीका अनुसार अब बाँकी शवको पहिचान भोलिमात्रै गरिनेछ। पहिचान भएका शव भोलि सम्बन्धित परिवारलाई बुझाइने तयारी भइरहेको प्रहरीले जनाएको छ। विदेशीको शव भने काठमाण्डौ पठाइनेछ।