काठमाण्डौ । पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयले विभिन्न संकायमा रिक्त रहेका विभिन्न विषयका ५२ उपप्राध्यापकमा पदपूर्ति गर्ने भन्दै योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरेको छ । 

विश्वविद्यालयको सेवा आयोगको कार्यायले शनिवार सूचना प्रकाशित गरी शैक्षिक पदहरुमा खुल्ला प्रतियोगितामा दरखास्त दिन आह्वान गरेको हो । 

विश्वविद्यालयको व्यवस्थापन संकायका लागि ८, स्वास्थ्य विज्ञान संकायतर्फ २५, विज्ञान तथा प्रविधि संकायतर्फ १७  र मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ २ जना उपप्राध्यापक माग गरिएको हो । 

व्यवस्थापन संकायतर्फ व्यवस्थापन लेखाका लागि ४, सामान्य व्यवस्थापनमा २ र व्यवस्थापन(बजारशास्त्र) विषयका लागि २ उपप्राध्यापक मागिएको छ । 

यस्तै, स्वास्थ्य विज्ञान संकायतर्फ मेडिकल ल्याब टेक्नोलोजी तथा मेडिकल ल्याब साइन्सका २, मेडिकल माइक्रोबायोलोजीमा १, एम.फर्मा. नेचुरल प्रोडक्ट केमेस्ट्रीतर्फ २, एम फर्मा फर्मास्यूटिक्सका २, एम फर्मा क्लिनिकल फार्मेसी तथा फर्मास्यूटिकल केयरका लागि १, एनाटोमी एण्ड फिजियोलोजीका लागि १, फर्माकोलोजीको १, जनस्वास्थ्यका ४, जनरल नर्सिङतर्फ ४, अब्टेरिक्स एण्ड गायनोकलजी नर्सिङ तथा उमन्स हेल्थतर्फ १, एडल्ट हेल्थ नर्सिङ तथा मेडिकल सर्जिकल नसिंङतर्फ ३, पेडियाट्रिक नर्सिङ तथा चाइल्ड हेल्थ नर्सिङतर्फ १, कम्युनिटी हेल्थ नर्सिङतर्फ १ र साइक्याट्रिकतर्फ १ जना उपप्राध्यापक मागिएको छ । 

यसैगरी, विज्ञान तथा प्रविधि संकायतर्फ इलेक्ट्रिकल इञ्जिनियरिङतर्फ ५, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इञ्जिनियरिङतर्फ १, सिभिल इञ्जिनियरिङतर्फ ३, वाटर रिसोर्सेज इञ्जिनियरिङतर्फ १, स्ट्रक्चरल इञ्जिनियरिङतर्फ २, इन्भाइरन्मेन्टल इञ्जिनियरिङतर्फ १, कम्प्युटर इञ्जिनियरिङतर्फ १, गणिततर्फ १, मेकानिकल इञ्जिनियरिङतर्फ १ उपप्राध्यापक र मेकानिकल इञ्जिनियरिङतर्फ एक सहायक प्रशिक्षकका लागि समेत दरखास्त आह्वान गरिएको छ । 

मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ डेभलपमेन्ट स्टडिज, रुलर डेभलपमेन्ट तथा जनसंख्या, लैंगिक तथा विकास बिषयका लागि एक र जनसंख्या, लैंगिक तथा विकास वा सोसल वर्क वा कन्फिल्क्ट मेनेजमेन्ट डेभलपमेन्ट स्टडिज विषयका लागि एक उपप्राध्यापक मागिएको छ । 

सम्बन्धित बिषयमा दोश्रो श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरी २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेकोले दरखास्त दिनसक्ने बताइएको छ । सहायक प्रशिक्षक पदमा चाहि सम्बन्धित प्राविधिक बिषयमा ३ वर्षै डिप्लोमा पास गरेको र १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । 

आरक्षित समूहको उम्मेद्वार भएमा सम्बन्धित पदका लागि तोकिएको आवेदन दस्तुरका अतिरिक्त प्रति समूह उपप्राध्यापक रु ७०० र सहायक प्रशिक्षक समूहका लागि रु. ५०० थप दस्तुर लाग्ने जनाएको छ । उपप्राध्यापकका लागि आवेदन दस्तुर चाहि रु. १६०० तोकिएको छ भने सहायक प्रशिक्षकका लागि रुं १४०० तोकिएको छ । जेठ ९ गतेभित्र दरखास्त फारम पोरखा विश्वविद्यालयको सेवा आयोगको कार्यालय रातोपुल, गौशाला काठमाण्डौ तथा पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालय लेखनाथ नगरपालिका ढुंगेपाटन, कास्कीमा बुझाउन सकिनेछ । फारम भर्नेले जेठ १४ गते यी दुवै स्थानमा सम्पर्क गर्नुपर्नेछ । 

प्रशासनमा पनि जागिर
विश्वविद्यालयको ३ वटा प्रशासनिक पदमा समेत खुल्ला प्रतियोगितामार्फत जागिरको अवसर खुलेको छ । प्रशासनतर्फ सहायक पदमा २ जना र एकजना कार्यालय सहयोगीका लागि समेत जागिरको अवसर खुलेको छ । प्रशासन सहायकतर्फ दरखास्त दिन चाहेनले आवेदन दस्तुर १ हजार र पियनका लागि ८ सय रुपैयाँ दस्तुर तोकिएको छ । प्रशासन सहायकमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण तथा पियनमा सामान्य लेखपढ गर्न जान्नेले आवेदन दिन सक्ने बताइएको छ ।