काठमाण्डौ । नेपाल टेलिकमले जीएसएम पोष्टपेड मोबाइलका कर्पोरेट ग्राहकहरुका लागि पहिलेदेखि नै उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप(सीयुजी) सुविधालाई रिप्याकेज गर्नुका साथै नयाँ महसुल दर समेत निर्धारण गरेको छ । यो सुविधा २०७४ साउन ३१ देखि शुरु भएको छ र आगामी कात्तिक २७ गतेसम्म लागू हुने टेलिकमले एक विज्ञप्तिमार्फत जनाएको छ । 

अब सीयूजी सुविधा प्रयोग गरी एउटै सीयूजी प्याकेजअन्तर्गत रहेका कर्पोरेट ग्राहकहरुले एक अर्कामा निःशुल्क रुपमा असीमित भ्वाइस कल गर्नसक्ने छन् । साथै, कर्पोरेट युजर ग्रुपबाहेक नेपाल टेलिकमकै नेटवर्क भित्रका अन्य नम्बरमा समेत भ्वाइस कल गर्न र डाटा चलाउन पाइनेछ । कम्पनीले कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी करसहित ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सीयूजी प्याकेजहरु उपलब्ध गराएको छ । 

सबैभन्दा सस्तो प्याकेज ४ सय रुपैयाँमा उपलब्ध हुनेछ । यसअन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइनेछ । त्यसैगरी ७ सय रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिने छ । योबाहेक १ हजार रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र १५०० एमबी डाटा चलाउन, १३ सय रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र २१०० एमबी डाटा चलाउन तथा १६ सय रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र २७०० एमबी डाटा चलाउन पाइने छ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ । 

जीएसएम पोष्टपेड कर्पोरेट ग्राहकहरुलाई लक्षित गरी कम्पनीले यो प्याकेज उपलब्ध गराएको हो । कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जीएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुनसक्ने छन् । कर्पोरेट हाउसले आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइनेछ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिने टेलिकमले जनाएको छ ।