काठमाण्डौ । प्रगतिशील शिक्षाका लागि विद्यालय रुपान्तरण विषयमा आयोजना भएको एकदिने सेमिनार सम्पन्न भएको छ। 

काठमाण्डौ विश्वविद्यालय, एडचेन्ज नेपाल र निमा एकेडेमीको संयुक्त आयोजनामा आइतबार प्रगतिशील शिक्षाका लागि विद्यालय रुपान्तरण विषयक सेमिनार भएको हो। सेमिनारमा सांसद गीता राना, निमा एजुकेसन फाउन्डेसनका सीईओ निश्चल प्रधान, एडचेन्ज नेपालका अध्यक्ष डा. राजेश्वरी मल्ल, काठमाण्डौ विश्वविद्यालय स्कुल अफ एजुकेसनका लागि डा. बालकृष्ण लुइँटेल,  प्राध्यापकलगायत शिक्षा क्षेत्रमा काम गर्दै आएका सरोकारवालाको उपस्थिति थियो। 

कार्यक्रममा प्रगतिशील शिक्षाका विभिन्न विषयमा विविध छलफल भएको थियो। कार्यक्रममा काठमाण्डौ विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्राडा बालकृष्ण लुइटेलले सम्बोधन गरेका थिए। 

सेमिनारमा विभिन्न विषयमा ६ वटा कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो। प्रगतिशील शिक्षाका लागि विद्यालय रुपान्तरण विषयमा एडचेन्ज नेपालका कार्यकारी अध्यक्ष विकेश महर्जनले आफ्नो प्रस्तुति दिएका थिए। 

सेमिनारमा प्रभावकारी सिकाइ र स्कुल व्यवस्थापनमा काठमाण्डौ विश्वविद्यालय स्कुल अफ एजुकेसनका एसोसिएट डिन प्राध्यापक डा. धनपति सुवेदी र लिडरसिप प्रमुख डा. शेषकान्त पंगेनीले प्रस्तुति दिएका थिए। 

शिक्षकको व्यावसायिक विकास विषयमा प्राडा लक्ष्मण ज्ञवाली र स्टिम शिक्षाको विषयमा असिस्टेन्ट प्रोफेसर विनोद पन्तले प्रस्तुति दिएका थिए। 

यस्तै विद्यार्थीमा एआईको प्रभाव विषयमा स्टिमपिडिया इन्डियाका विपुल कुमार र लैंगिक समस्याबारे डा. लिना गुरुङले आफ्नो प्रस्तुति दिएका थिए। 

प्रगतिशील शिक्षाका लागि विद्यालय रुपान्तरण विषयक अन्तर्क्रिया कार्यक्रम फलदायी भएको आयोजकले जानकारी दिएको छ।