काठमाण्डौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी) संसदबाट पास गर्ने विषयले गठबन्धन सरकार समस्यामा परेको छ । गठबन्धनमै रहेको एउटा दल माओवादी केन्द्रले एमसीसी कुनै पनि हालतमा संसदमा टेबल गर्न नदिने अडान नछाडेपछि कांग्रेसका नेताहरुले एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने विकल्पमा छलफल अगाडि बढाएका छन् । 

एमालेका एक दोश्रो तहका नेताकाअनुसार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना विश्वासपात्रहरु पठाएर माओवादीलाई सरकारबाट विदा गरेरै भए पनि एमालेसँग सहकार्य गर्ने र दुवै मिलेर एमसीसी पास गर्ने विकल्पमा विभिन्न प्रस्तावहरु पठाउन थालेका छन् । 

कांग्रेस सभापति देउवाले नै विभिन्न दूत पठाएर एमालेका दोश्रो तहका नेताहरुसँग छलफल अगाडि बढाएका कारण गठबन्धन सरकार लगभग ढल्ने अवस्था देखिएको ती नेताको दाबी छ । अब एमालेसँगको सहकार्यमा एमसीसी अगाडि बढाउने मूडमा प्रधानमन्त्री देउवा रहेका दाबी गरिएको छ । 

प्रधानमन्त्री देउवाका प्रतिनिधिहरुसँगको भेटमा एमालेका नेताहरुले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको सन्देश समेत सुनाएका स्रोतको दाबी छ । ओलीले नेताहरुमार्फत कांग्रेसलाई प्याकेजमै सहमति गरेर अगाडि बढ्न प्रस्ताव गरेका समेत बुझिएको छ । 

ओलीले एमसीसी पास गर्ने अजेण्डा मात्र नभई अन्य विषयलाई समेत प्याकेजमै सहमति गरेर जानुपर्नेमा जोड दिएका छन् । ओलीले कांग्रेस समेतको समर्थनमा माओवादी केन्द्र निकट सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने, सबै प्रदेशहरुमा दुवै पार्टीको सहभागितामा सरकार निर्माण गर्ने, तर संघीय सरकारमा भने एमाले सहभागी नहुने प्रस्ताव गरेका छन् । 

एमालेले कुनै पनि मन्त्रीलाई सरकारमा सहभागी नगराउने, तर कांग्रेस सरकारलाई सहयोग गर्ने वचन ओलीले दिएका छन् । एमालेकै सहयोगमा आगामी स्थानीय निकाय निर्वाचन देउवा नेतृत्वको कामचलाउ सरकारले नै गराउने वातावरण मिलाउने वचन समेत ओलीले दिएका छन् । 

ओलीले विभिन्न नेतामार्फत गरेका प्रस्तावप्रति कांग्रेसका नेताहरु समेत सकारात्मक रहेका छन् । उनीहरु एमसीसीको मुद्धामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ढुलमुले नीति लिएकोमा रुष्ट छन् । 

निकटस्थ नेताहरुले देउवालाई माओवादीसँगको सहकार्य टुटाएरै भए पनि अगाडि बढ्न भनिसकेका छन् । ‘एमसीसी देशको हितमा रहेको’ भन्दै कांग्रेस अहिले यसलाई संसदबाट पारित गराउने विषयमा एकमत देखिएको छ । 

एमाले ‘पर्ख र हेर’को नीति लिए पनि एमसीसी पास होस् भन्ने चाहना राख्छ । तर, माओवादी केन्द्रका अध्यक्ष भने निर्वाचनपछि मात्रै एमसीसी पास गर्नुपर्ने वा यथास्थितिमा पास गर्नुपरे संसोधनसहित गर्नुपर्ने अडानमा छन् । कांग्रेस नेताहरुले निर्वाचनपछि पास गर्दा हुने एमसीसी अहिले चाहि पास गर्नै नहुने प्रचण्डको भनाईलाई ‘चतुर्याईं’को संज्ञा दिएका छन् । 

गठबन्धनको सरकार रहने या नरहने, एमसीसी परियोजना कसरी अगाडि बढ्ने लगायतका विषयको टुंगो आज रातिसम्म लाग्ने घटनाक्रमहरुले प्रष्ट संकेत गरिसकेका छन् । ५ बजे सरकारमा सहभागी गठबन्धनमा सहभागी दलहरुको बैठक बस्दैछ । सो बैठकमा पनि कुरा नमिले देउवा आफैंले गठबन्धन भत्किएको घोषणा समेत गर्नसक्ने संभावना रहेको छ । यो भयो भने माओवादी र नेकपा समाजवादी सरकारबाट बाहिरिनेछन् र राजनीतिले नयाँ दिशा पक्रिनेछ ।