काठमाण्डौ । हिमालयन बैंकमा बिलय हुने गरी सिभिल बैंकले बुधबार मर्जर सम्झौता गरेको छ । 

निकै लामो समयको रस्साकस्सी तथा प्रयासपछि हिमालयन–सिभिल बैंकबीचको मर्जर सम्झौता सम्भव भएको हो । 

प्रारम्भिक मर्जर सम्झौतासँगै अब यी दुई बैंक केही महिनाको अन्तरालमै एक भई बलियो र ठूलो आकारको ‘हिमालयन बैंक लिमीटेड’को रुपमा उदाउनेछन् ।

हिमालयन बैंकसँग मर्जरको सम्झौता गर्दै गर्दा सिभिलका सञ्चालक समितिका अध्यक्ष प्रतापजंग पाण्डे, मर्जर कमिटी, सञ्चालक तथा उच्च व्यवस्थापनको भूमिकाको प्रशंसा पनि सुरु भएको छ । 

नेतृत्वमा कुशल व्यक्तिहरु हुँदा कुनै पनि कम्पनी वा संस्थालाई अगाडि बढाउन, त्यस्ता कम्पनीका सेयरधनीलाई प्रफूल्ल पार्न तथा कर्मचारीलाई समेत खुशी बनाउन कसरी सकिने रहेछ भन्ने पछिल्लो उदाहरण समेत सिभिल बैंक बनेको बताउन थालिएको छ । 

सिभिल बैंकका अध्यक्ष तथा सञ्चालकहरुको त्याग, निकै दमदार डिल र दूरदर्शिताका कारण हिमालयन बैंकसँग शानदार स्वापमा बिलय गराउने एमओयू सम्पन्न भएको देखिन्छ । 

अन्य बैंकमाजस्तो हिमालयन बैंकले लिँदै गर्दा सिभिलका कर्मचारी बेखुश देखिएका छैनन् । सिभिलका लगानीकर्ता पनि प्रफूल्ल छन् । 

प्रतापजङ्ग पाण्डेको त्याग
सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले मर्जरका लागि राष्ट्रबैंकबाट दवाब आउन थालेदेखि नै केही विषयहरुमा आफ्नो प्रष्ट धारणा राख्ने गरेका थिए । 

कुनै न कुनै वाणिज्य बैंकसँग मर्जरमा जानैपर्ने बुझेका उनले आफूले त्याग गरेर भए पनि लगानीकर्तालाई निराश नबनाउने, हेपिएर कसैसँग मर्जरको सम्झौता नगर्ने र आफ्ना बैंकका कर्मचारीहरुको समायोजनमा पनि कुनै अन्यायपूर्ण सम्झौता नगर्ने भनेका थिए । हिमालयन बैंकसँग मर्जर सम्झौता हुँदै गर्दा उनले यी सबै विषयहरुको सहज र सम्मानजनक सेफ ल्याण्डिङ गराउने सफलता पाएका छन् । 

दुईवर्षमै फेरिएको परिदृश्य
दुई
वर्षअगाडि सिभिल बैंकले नै हिमालयनलाई मर्जरका लागि इच्छा व्यक्त गर्दै पत्र लेखेको थियो । सिभिल र हिमालयनमा केही ठूला लगानीकर्ताको क्रसहोल्डिङ भएका कारण आपसमा मर्ज भएर अगाडि बढ्दा सिनर्जी आउने भन्दै सिभिलले हिमालयनलाई प्रस्ताव गरेको थियो । 

त्यसबेला आएको प्रस्तावको जवाफमा हिमालयनले सिभिलाई १००ः३५ को सेयर स्वापमा मात्र लिन सकिने भनेको थियो । हिमालयनले बढी नै हेपेको महसुस गर्दै सिभिलले उसँग त्यसपछि मर्जरका लागि कुनै पनि छलफल अगाडि बढाएन । 

त्यो बीचमा हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रक्रिया सुरु भयो । केही महिनाको तयारीपछि मर्जरको अन्तिम सम्झौता हुनु केही दिनअघि मात्रै यी दुई बैंकको मर्जर भाँडिएको थियो । 

त्यसपछि राष्ट्रबैंकले हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई नै कारबाही गरेको थियो । दुवै बैंकलाई केन्द्रीय बैंकले एकवर्षभित्र अर्को वाणिज्य बैंकसँग मर्जरमा जान भनेको थियो । एकवर्षभित्रै कुनै न कुनै वाणिज्य बैंकसँग मर्जर सम्झौता गर्नुपर्ने बाध्यतामा रहेको इन्भेष्टमेन्ट बैंकले मेगासँग मर्जर सम्झौता गरेपछि हिमालयनलार्ई दवाब परेको थियो ।

त्यसपछि हिमालयनकै प्रस्तावमा एक वर्षअघिदेखि थाँती रहेको सिभिलसँगको मर्जर छलफल अगाडि बढेको थियो । यसपटकको छलफलको सुरुवातमा हिमालयनले सिभिललाई १००ः५० को स्वाप प्रस्ताव गरेको थियो । सिभिलले भने १००ः९० को स्वापमा मात्रै मर्जरमा जान सकिने प्रष्ट अडान राखेको थियो । 

छलफलहरु अगाडि बढ्दै जाँदा हिमालयन ५० बाट बढ्दै गएर ६५ रुपैयाँसम्म पुगेको थियो । तर, त्यसबेलासम्म पनि सिभिलले सेयर स्वापको आफ्नो अडान छाडेन । 

सिभिलका अध्यक्ष प्रतापजंग पाण्डे र सञ्चालकहरुले त्यसपछि हिमालयनलाई अर्को प्रस्ताव गरे । त्यो थियो–‘हामी सबै कुरा छाड्छौं, तर सेयर स्वाप र कर्मचारी समायोजन हामीले भनेजस्तो हुनुपर्छ । यी दुई विषयमा हेपिएर हामी तपाईहरुसँग आउँदैनौं ।’  

त्यसपछि सिभिलले बैंकको नाम, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक कोही पनि नचाहिने प्रष्ट पारेको थियो । तर, त्यसको बदलामा राम्रो स्वाप रेसियो र सम्मानजनक कर्मचारी समायोजनको प्रस्ताव आउनुपर्ने अडान राखेको थियो । 

सिभिल आफ्नो अडानबाट टसको मस नभएपछि हिमालयन बैंक सेयर स्वापमा केही लचक बन्दै गयो । १००ः७५ सम्म दिन तयार भयो । तर, यसमा पनि सिभिलले चित्त नबुझाएपछि साताअघि यी दुई बैंकबीच घनिभूत छलफल भई राति १००ः८१ को सेयर स्वापमा कुरा मिलेको थियो । 

त्यो दिन सेयर स्वाप मात्र नभई मर्जपछि बन्ने बैंकको नाम ‘हिमालयन बैंक’ नै रहने, मर्जपछि बन्ने बैंकमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले दोश्रो बरियता पाउने, मर्जपछिको हिमालयन बैंकको सञ्चालकहरुमा सिभिलबाट कुनै प्रतिनिधित्व नहुने विषयमा सहमति बन्यो । 

यो सहमतिलगत्तै हिमालयनले मर्जरको एमओयू गर्न खोजेको थियो । तर, सिभिलका सञ्चालकहरुले कर्मचारीहरुको सम्मानजनक समायोजनको विषयमा समेत लिखित सहमति हुनुपर्ने विषय उठाइरहे।

यो विषयले दुई बैंकबीच केही खटपट भयो । पछि हिमालयन बैंकका केही सञ्चालकहरुले मिडियाहरु प्रयोग गरेर सेयर स्वाप पनि सहमति भएअनुसारको दिन नसकिने मात्र भनेनन्, सुनिल पोखरेललाई मर्जपछि दोश्रो बरियता पनि दिन नसकिने भनिदिए । त्यसपछि भने सिभिल हिमालयनसँग तत्काल एमओयू गर्न डरायो । 

सिभिलका सञ्चालकहरुले त्यसबेलै बिजशालासँग भनेका थिए–‘हिमालयनले सुरुमै हामीलाई हेप्न खोज्यो । हेपिएर हामी मर्जरमा जाँदैनौं ।’ 

त्यसपछि सिभिलका सञ्चालक तथा मर्जर कमिटी ‘सिटिजन्स बैंकको कार्ड’सहित अगाडि बढे । उनीहरुले सिटिजन्स बैंकसँग मर्जरको छलफल समेत अगाडि बढाए । केही चरणका छलफलहरु पनि भए । सुनियोजित ढंगले ‘सिटिजन्सले १००ः९७ सेयर स्वाप दिने भयो’ भनेर समाचार लेख्न लगाइयो । यसपछाडिको एउटै स्वार्थ थियो–‘सिटिजन्स कार्ड’ देखाएर हिमालयनलाई सकेसम्म दवाब दिनु र मर्जरका लागि बाध्य पार्नु । 

अर्कोतर्फ, हिमालयनसँग केही गरी पनि कुरा मिलेन भने पनि सिटिजन्ससँग मर्जरको सम्झौता गरिहाल्ने सिभिलका सञ्चालकहरुको योजना थियो । 

तर, उनीहरुले चाहेजस्तो सहजै सिटिजन्ससँग एमओयू हुने अवस्था थिएन । सिटिजन्सले आफूहरुको डिडिए नभएको उल्लेख गर्दै असारभित्रै मर्जर सम्झौता गर्न नसकिने र आफूहरुलाई मर्जरका लागि कुनै हतारो नभएको प्रष्ट जवाफ दिइसकेको थियो । 

यो बीचमा भित्रभित्रै सिभिलले खेलेको ‘सिटिजन्स कार्ड’ले काम गरिरहेको थियो । सिटिजन्ससँगका हरेक छलफलहरु लिक गरेर हिमालयनका सञ्चालकसम्म पुर्याउने काम गरिएको थियो । असार बित्न लाग्दा समेत सिभिल मर्जर छलफलमा नफर्किएपछि र अरुतिरै लाग्ने अवस्था देखिएपछि भने हिमालयन बैंकको सञ्चालक समितिले सिभिलका सबै कुरा मानेरै भए पनि राष्ट्रबैंकको कारबाहीबाट मुक्त हुने निर्णय लियो । यही निर्णयका कारण लगभग भाँडिइसकेको सिभिलसँगको मर्जर सम्झौता सम्भव भयो । 

सिभिलले मारेको बाजी
हिमालयनसँग मर्जर सम्झौता गर्दै गर्दा सिभिलले कतिपय जटिल सवालहरुमा निकै शानदार ढंगले डिल गरी बाजी मारेको छ । 

सिभिलका अध्यक्ष प्रतापजंग पाण्डेले आफूहरुलाई नाम र सञ्चालक पद समेत नचाहिने भनेर अभूतपूर्व त्याग देखाइदिए । तर, सबै कुरा छाडेबापत आफूहरुलाई राम्रो सेयर स्वाप चाहिन्छ भन्ने उनको धारणा थियो । उनले राम्रो सेयर स्वापको अडान नछाड्नु पछाडिको कारण थियो: हजारौं सेयरधनीको सर्वोपरि हित । 

त्यसपछि लामो समयसम्म गाँठो परेको विषय थियो: कर्मचारी समायोजन । अध्यक्ष पाण्डेले प्रष्ट रुपमा नवीलले एनबी बैंक लिँदा एनबीका कर्मचारीमाथि भएकोजस्तो अन्याय आफूले हुन नदिने बताएका थिए । 

उनले कर्मचारी समायोजन सम्मानजनक नभए मर्जरको सम्झौता नै नगर्ने अडान लिएपछि हिमालयन त्यो प्रस्ताव समेत मान्न तयार भयो । अब सिभिलका उच्च तहका केही कर्मचारीबाहेक सबैको तह अहिलेको जस्तै हुनेछ । ‘मर्जरपछि कुनै पनि कर्मचारीले रुनुपर्ने अवस्था आउनेछैन ।’ पाण्डेले बिजशालासँग भने–‘हामीले सेयरधनी र कर्मचारीको हित हेरेर सबै कुरा त्यागेका हौं । हामीलाई सञ्चालक चाहिएन, तर वर्षौदेखि यही संस्थामा रहेर काम गरेका कर्मचारीहरुको बिजोग हुनुभएन । यस्तै, हामीमाथि विश्वास गर्ने हजारौं सेयरधनी पनि निराश हुनुभएन ।’ 

यसरी अध्यक्ष पाण्डे र सिभिलका सञ्चालक तथा मर्जर कमिटीको बुद्धिमतापूर्वक डिलका कारण एकवर्षअघि ३५ रुपैयाँ मात्र मूल्य पाएको सिभिलले ८१ रुपैयाँको सम्मानजनक स्वाप पाएको छ । 

सिभिललाई ८१ रुपैयाँको स्वाप दिन हिमालयनलाई बाध्य पार्ने फ्याक्टरमा अध्यक्ष र सञ्चालकको डिल मात्र नभई, उच्च व्यवस्थापनले बैंकको वित्तीय स्वास्थ्यमा ल्याएको तीव्र सुधार कार्य पनि उल्लेखनीय देखिन्छ । व्यवस्थापनले पछिल्लो समय सिभिलको वित्तीय स्वास्थ्यमा निकै ठूलो सुधार गरेको थियो । जसका कारण सिभिलको बार्गेनिङ क्षमता बढ्यो । 

जानकारहरुको कुरा मान्ने हो भने वित्तीय सूचकहरुलाई मात्रै हेरेर सिभिलले पाउने स्वाप भनेको बढीमा ६५ देखि ७० रुपैयाँ मात्र थियो । तर, सिभिलको सुधारिएको वित्तीय सूचकमा सञ्चालकहरुको दमदार डिलले उर्जा थपिदियो । अध्यक्ष पाण्डे र सञ्चालकहरुको त्यागले अन्ततः सिभिलले ८१ रुपैयाँ मूल्य पायो । बैंकिङ क्षेत्रमा सिभिलले गरेको डिल र पाएको मूल्य सम्झनायोग्य हुने बजारका जानकार बताउँछन् । 

अझ वर्षेनी दोहोरो अंकमा रिटर्न दिंदै आएको नेपाल बंगलादेश(एनबी) बैंक ४३ रुपैयाँमै नवीलमा बिलय भएको ताजा घटना तथा एनबी बैंकका कर्मचारी नवीलमा गाभिएपछि घटुवा हुनुपर्ने ताजा बाध्यताका कारण समेत सिभिलले गरेको डिल प्रशसंनीय बन्न पुगेको छ ।