काठमाण्डौ । चीनमा कोरोनासँग सम्बन्धित प्रतिबन्ध खुकुलो भएसँगै मानिसहरु विदेशिनेको होडबाजी बढेको छ।

चीनले अर्को महिनादेखि आफ्नो सीमा खोल्ने भएको छ। यो घोषणासँगै चिनियाँ जनताले विदेश जाने टिकट बुकिङ र राहदानी बनाउन थालेका छन्।

अध्यागमन अधिकारीहरुले अन्तर्राष्ट्रिय यात्रा गर्न चाहने चिनियाँ नागरिकको राहदानी आवेदन जनवरी ८ देखि पुनः स्वीकार गरिने घोषणा गरेका थिए।

चीनमा ३ वर्षसम्म कडा कोरोना प्रतिबन्ध लगाएपछि अब नियमहरु खुकुलो बनाइएको छ। त्यसपछि ट्राभल साइटहरुको ट्राफिक धेरै बढेको छ। तर, केही देशले चीनबाट आउने यात्रुका लागि ट्राभल नियम कडा बनाएकाले चिनियाँ नागरिकलाई विदेश यात्रा गर्न सहज हुने छैन।

अमेरिकाका अधिकारीहरुले चीनबाट आउने यात्रुहरुमा नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेका छन्। चीनमा बढ्दो कोरोना संक्रमित र सरकारको पारदर्शिताको अभावका कारण यी प्रतिबन्धहरु लगाइएको हो।

चीनबाट आउने यात्रुले कोरोनाको रिपोर्ट नेगेटिभ देखाउनुपर्ने वा ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने पनि जापानले जनाएको छ।

उता भारतले पनि चीनबाट आउने यात्रुलाई नेगेटिभ रिपोर्ट देखाउन अनिवार्य गरेको छ। –एजेन्सी