काठमाडौं। उद्योगी दिवाकर गोल्छाको ६७ वर्षको उमेरमा निधन भएको छ। 

उनको भारतको चेन्नईस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

गोल्छाको करिब १५ दिनअघि किड्नी ट्रान्सप्लान्ट भएको थियो ।  किड्नी ट्रान्सप्लान्टपछि पनि उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि चेन्नईस्थित अस्पतालमै राखेर उपचार जारी राखिएको थियो । सो क्रममा उनको मंगलबार राति निधन भएको हो । 

पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ सभासद बनेका गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत भइसकेका प्रतिष्ठित उद्योगी हुन् । उनी मोरंग व्यापार संघको समेत उपाध्यक्ष भएका थिए । 

उनी नेपालकै प्रतिष्ठित औद्योगिक घराना गोल्छा अर्गनाइजेसनका तेश्रो पुस्ताका सदस्य थिए । गोल्छा अर्गनाइजेसनको उपाध्यक्ष समेत रहेका दिवाकरले हुलास स्टिल एण्ड वायर इण्डष्टिज, श्रीराम सुगर, इस्टर्न सुगर, हुलास स्टील लगायत दुईदर्जन बढी उद्योग हाँकिरहेका थिए । 

दिवाकर विराटनगरका चर्चित उद्योगी महेन्द्र गोल्छाका दाई हुन् । महेन्द्र गोल्छाको पनि केही वर्षअघि निधन भइसकेको छ । 

उनी लामो समयदेखि डायबिटिज र मुटुको समस्याबाट समेत पीडित थिए ।

कुनै बेला गोल्छा अर्गनाइजेसनको सर्वैसर्वा रहेका दिवाकर आफू अस्वस्थ हुन थालेपछि गोल्छा समूहभित्रका उद्योगहरुको अशंबण्डा गरिदिएका थिए। 

'उहाँ मात्र यस्ता व्यक्ति हुनुहुन्थ्यो, जसले गोल्छा अर्गनाइजेसनलाई एकताबद्ध बनाउनुभएको थियो ।' दिवाकरलाई नजिकबाट चिनेका विराटनगरका उद्योगी पवनकुमार सारडाले बिजशालासँग भने-'उहाँ डेडिकेटेड विजिनेशम्यान हुनुहुन्थ्यो ।'