काठमाण्डौ । ब्रिटेनको एउटा महत्वपूर्ण प्रतिवेदनले सुपरबग्स भनिने औषधिले नछुने किटाणुका कारण सन् २०५० सम्ममा प्रति बर्ष एक करोड मानिस मारिन सक्ने चेतावनी दिएको छ।

उक्त विश्वव्यापी समिक्षात्मक अध्ययनले संक्रमणमाथीको औषधीको प्रतिरोधी क्षमता ह्रासका कारण क्यान्सरले भन्दा बढि मानिस मर्ने विश्लेषण गरेको छ।

त्यस्तो अवस्था आउन नदिन अत्यावश्यक नभएसम्म विरामीहरुलाई एन्टिबायोटिक्स औषधि दिन नहुने र पशुपंक्षिलाई एन्टिबायोटिक्स दिन बन्द गर्नुपर्ने सुझाव दिइएको छ।

सुपरबग्स भनिने किटाणु विरुद्धका औषधी बनाउन अर्बौ डलर लगानी गर्नुपर्ने निष्कर्ष अध्ययनको छ।

हाल भइरहेको ‘एन्टिबायोटिक्स’को प्रयोगमा क्रान्ती ल्याउनुपर्ने र मानिसहरुलाई साक्षर बनाउन एउटा ठूलो अभियान चलाउनुपर्ने प्रतिवेदनले उल्लेख गरेको छ।

उक्त प्रतिवेदनबारे मिश्रित प्रतिक्रिया आएका छन् र केहीले गहिरोसँग अध्ययन नगरिएको टिप्पणी गरेका छन्।
औषधीले नछुने खालका संक्रमण बिरुद्धको लडाँईमा द्रुत गतिमा विश्व पराजित भइरहेको छ र यो आतंकवाद जतिकै खतरताक रहेको ब्याख्या गरिएको छ।

मुल समस्या पर्याप्त रुपमा नयाँ ‘एन्टिबायोटिक्स’हरु बनिरहेका छैनन् र भएका त्यस्ता औषधीहरु पनि खेर गइरहेका छन्।
सन् २०१४ को मध्यमा ‘एन्टिमाइक्रोबियल रेसिसटेन्स’ अर्थात किटाणु प्रतिरोधी क्षमताबारेको समिक्षा सुरु भए यता १० लाख मानिसहरुले संक्रमणबाट ज्यान गुमाइसकेका छन्।

उक्त समिक्षाले सन् २०५० सम्ममा त्यस्तो संक्रमणबाट ज्यान गुमाउनेको संख्या बर्षको १ करोड पुग्ने चेतावनी दिएको छ।
बीबीसी न्युज वेब साइटका स्वास्थ्य सम्पादक जेम्स गालाघर भन्छन्, “एउटा भयवाह भविष्य मडराईरहेको छ र त्यसबेला औषधिसमेत चिकित्सकको हातबाट खोसिएको हुनसक्छ।”

उनी थप्छन्, औँलामा भएको साधारण घाउका कारण समेत हामीले जीवनको लागी संघर्ष गर्नुपर्ने हुनसक्छ। ‘एन्टिबायोटिक्स’ बिनाको त्यो समयमा चिकित्सकले भन्दा भाग्यले तपाइको भविष्य निर्धारण गर्नेछ।

उनको विश्लेषणमा, सुन्दा कुनै विज्ञानको काल्पनिक कथा जस्तै लागे पनि पेटको तल्लो भागमा हुने ‘एपेन्डिक्स’ भनिने आन्द्राको एउटा हिस्सा हटाउने र कम्मर सम्बन्धी साधारण शल्यक्रिया भविष्यमा एकदमै जोखिमपूर्ण हुनसक्छ।

विज्ञहरुले त्यस बेला क्यान्सरको उपचार र अंग प्रत्यारोपणले मानिसको ज्यान लिनसक्ने र प्रशुतीको अवस्था महिलाको जीवनकै सबैभन्दा खतरानाक समय हुन सक्ने चेतावनी दिएका छन्।
बीबीसी