काठमाण्डौ । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको वाई वाई नूडल्सको बजार बिस्तार भई ४० देश पुगिसकेको छ । पछिल्लो समय वाइवाईले भारतमा अभूतपूर्व सफलता हासिल गरिरहेको छ । सन् २०१८ मा वाईवाईको व्यापार भारतमा निकै राम्रो भएको मिडिया रिपोर्टहरुमा बताइएको छ । 

एपीएन न्यूजको एक रिपोर्टअनुसार वाईवाईको व्यापार भारतको यूपी, बिहार, राजस्थान, हरियाणा, पश्चिम बंगाल, झारखण्ड, गुजराज महाराष्ट, कर्नाटक, केरेला लगायतका राज्यमा आक्रामक रुपमा बिस्तार भइरहेको छ । केही अघिसम्म यी क्षेत्रको नूडल्स बजारमा वाईवाईको हिस्सा नगण्य भए पनि अहिले बढेर निकै राम्रो पोजिसिन बनिसकेको रिपोर्टमा उल्लेख गरिएको छ । 

नेशल, आइटीसी, हल(एचयूएल) जस्ता नूडल्सका ब्राण्डले बजार बिस्तारका लागि निकै आक्रामक प्रचारप्रसार नीति अपनाए पनि वाईवाईका अगाडि उनीहरु पछाडि परेका छन् । वाईवाईको स्वादलाई सर्वसाधारणले औधी मन पराइदिएपछि भारतको नूडल्स बजारमा यसको मार्केट सेयर चमात्कारिक ढंगले बढी २८ प्रतिशत पुगेको छ । 

विगत ५ वर्षमा भारतमा वाईवाई लोकप्रिय बनेको र प्रत्येक घरको इन्स्टेन्ट नूडल्सको रुपमा प्रवेश पाएको रिपोर्टमा उल्लेख गरिएको छ । भारतका शहरी क्षेत्रमा मात्र नभई ग्रामीण इलाकामा समेत वाईवाई निकै लोकप्रिय बनेको छ । 

वाईवाईको व्यापार प्रत्येक वर्ष २० प्रतिशत भन्दा बढीले बिस्तार भइरहेको बताइएको छ । 

सीजी फूड्स इण्डियालाई उद्धृत गर्दै बताइएअनुसार भारतमा मात्र एकवर्षमा ८८० करोड भारु बराबरको वाईवाई बिक्री हुन थालेको छ । 

सीजी फूड्सका ग्लोबल बिजिनेश हेड जीपी साहले भनेका छन्-'वाईवाई दिनप्रतिदिन बलियो बन्दै गएको छ । यसको बजार भारतमा मात्र नभई मध्यपूर्व, दक्षिणपूर्वी एशिया, यूरोप, अस्टेलिया, र अमेरिकासम्म पनि उत्साहजनक बिस्तार भइरहेको छ ।'

उत्तरपूर्वी भारतमा समेत वाईवाई विगत ५ वर्षदेखि नै बजारको नेतृत्व गर्ने इन्स्टेन्ट नूडल्स बनिसकेको उनको दाबी छ । अब वाईवाईले भारतको जुन राज्यमा आफ्नो बजार हिस्सा १५ प्रतिशत वा सोभन्दा कम छ, त्यहाँ अझ आक्रामक बजार नीतिसहित व्यापार विस्तारको रणनीति बनाएको छ । 

भारतमा एकवर्षमा वाईवाईका २.२ बिलियन प्याकेट बिक्री हुन थालेका छन् । वाईवाईले विश्वको नूडल्स बजारको २.२ प्रतिशत हिस्सा ओगट्न सफल भएको रिपोर्टमा बताइएको छ । 

सिजी फूड्सले वाईवाईको उत्पादन गत वर्ष सर्बियामा पनि बिस्तार गरिसकेको छ । विनोद चौधरीले वाईवाईले नवीनतम स्वाद पस्किने र सर्वियामा उत्पादन सुरु गर्नुको उद्देश्य यूरोपमा बिस्तार हुनु रहेको उल्लेख गरे । उनले यूरोपमा समेत वाईवाईले अपेक्षित सफलता हासिल गर्ने विश्वास व्यक्त गरे ।