काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रदेश नं. १ को इटहरीमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न गरेको छ। 

सातै प्रदेशमा गर्दै यो तालिम सोमबार कम्पनीले प्रदेश नं. १ को इटहरीमा सम्पन्न गरेको हो। इटहरीको होटल गोर्खामा सम्पन्न तालिममा प्रदेश १ अन्तर्गतका ११ जना प्रमुखको सहभागिता थियो। 

आपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैंक र बीमाका माध्यमले शुद्धीकरण गर्ने गरिएको छ। यस्तो कार्यलाई निरुत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यससम्बन्धी कानुनी व्यवस्था, शुद्धीकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रक्रियाबारेमा कम्पनीले तालिम प्रदान गरेको हो।

कम्पनीका वरिष्ठसहायक महाप्रबन्धक सपना खरेलले तालिम प्रदान गरेकी थिइन्।

तालिमको दोस्रो चरणमा कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमाका प्रोडक्टहरूका बारेमा र मार्केटिङ प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरूका बारेमा तालिम प्रदान गरेका थिए। आउने चैत महिनामा नेपालगन्ज र पोखरामा यससम्बन्धी तालिम प्रदान गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ।