काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार बजार दोहोरो अंकले घटेको छ। 

बजार आज ३२.४१ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक २६३२.२० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.२१ अंकले झर्दै ४७३.३९ को विन्दुमा सीमित बनेको छ। आज कारोबार रकम भने बढेर पौने ६ अर्ब रुपैयाँ बढीको भएको छ। 

प्राविधिक विश्लेषक रंगनाथ श्रेष्ठ बजारमा आज पनि करेक्सन आएको बताउँछन्। ‘प्राविधिक हिसाबले भन्नुपर्दा बजार २३७० बाट उकालो लागेको थियो’, श्रेष्ठ भन्छन्, ‘बजार २७६० पुगेर बजारमा करेक्सन आइरहेको छ।’

यो साताको मुभमेन्ट हेर्दा बजारले बीच–बीचमा सर्पोट लिन खोजेको देखिने पनि श्रेष्ठले बताए। ‘अब २६०० मा बलियो सपोर्ट देखिन्छ’, उनले भने, ‘यदि त्यहाँबाट पनि बजार तल झर्यो भने २५५० सम्मा आउन सक्छ र बजार त्यसपछि उकालो लाग्ने नै हो।’

अहिले ट्रेडरहरुले प्रफिट बुक गरेकै कारण बजारमा करेक्सन आइरहेको श्रेष्ठको भनाइ छ। ‘बजारमा खरिदको अवसर सिर्जना भएकाले केही दिनमै ठूला र दीर्घकालीन लगानीकर्ताहरु हावी हुन सक्छन्’, उनले भने।

एसियन सेक्युरिटिज बुटवल शाखाका प्रबन्धक दीनानाथ शर्माले कोभिडको त्रासले साना लगानीकर्ता डराउँदा बजारमा करेक्सन आएको बताउँछन्। ‘अहिले ठूला लगानीकर्ताहरु पनि पर्ख र हेरको अवस्थामा छन्’, उनले भने, ‘तर कोही पनि बजारबाट बाहिरिएका छैनन्, बरु सेक्टर परिवर्तन गर्दै लगानी गरिरहेका छन्।’

ब्रोकर तथा पुँजी बजारको विस्तार हुँदै गएकोले सकारात्मक महोल बनेकोले बजार घट्ने सम्भावना कमै रहेको शर्मा बताउँछन्। मोफसलहरुमा पनि काठमाण्डौकै हाराहारीमा कारोबार भइरहेकोले सेयर बजारमा आकर्षण निकै बढेको प्रस्ट हुने पनि उनको भनाइ छ।

आज नेप्से उपसमूहमा रहेका १३ समूहमध्ये १२ वटामा रातो पोतिएको छ भने एउटामा मात्रै हरियाली छाएको छ।

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १५४.२३ अंकले ओरालो लागेको छ। जीवन बीमा समूह १४५.०७ अंकले घटेको आज बैंकिङ समूहमा २४.९२ अंक, व्यापार समूहमा १.६५ अंक, होटेल तथा पर्यटन समूहमा २०.१३ अंक, विकास बैंक समूहमा ६१.३३ अंक, जलविद्युत् समूहमा २९.८२ अंक, वित्त समूहमा २०.७६ अंक, उत्पादन तथा प्रशोधन समूहमा ८२.४ अंक, अन्य समूहमा १७.४१ अंक, लघुवित्त समूहमा ५६.१९ अंक र लगानी समूहमा १.४३ अंकको गिरावट आएको छ।

आज म्युचुअल फन्ड समूहमात्रै ०.०२ अंकले उकालो लागेको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २१४ कम्पनीका १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता सेयर ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार २०३ रुपैयाँमा कारोबार भएका छन्।

आज निफ्राको सर्वाधिक २५ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमाल दोलखा हाइड्रोपावरको २२ करोड ६ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन नागरिक लगानी कोषको १८ करोड ३७ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको १६ करोड ८३ लाख रुपैयाँ, अपी पावरको १५ करोड ५२ लाख रुपैयाँ, नबिल बैंकको १४ करोड २६ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तको १४ करोड ६ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १२ करोड ४५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १२ करोड ११ लाख रुपैयाँ र अरुण काबेली पावरको ११ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। 

यो दिन लिबर्टी इनर्जीका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्य ५ प्रतिशत बढीले ओरालो लागेको छ।