काठमाण्डौ । लगातार ४ दिन बढेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार करेक्सन भएको छ। 

आज बजारमा १८.६४ अंकको करेक्सन भएको हो। योसँगै नेप्से परिसूचक २३५०.४२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.७ अंकले घटेर ४५३.९६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढीको भएको छ। 

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की आज बजार घट्नुको मुख्य कारण प्रफिट बुक नै रहेको बताउँछन्। ‘अब २–३ दिन बजार बन्द हुने भएकोले अन्तिम समयमा आएर ट्रेडरहरुले रिस्क किन लिने भनेर सेयर बेचेको हुन सक्छ’, उनले भने, ‘त्यसैले ४ दिन बढेको बजार आज घट्यो।’

नेपालको सेयर बजार ट्रेडर हावी भएको बजार रहेको कार्कीको भनाइ छ। 

सक्रिय लगानीकर्ता अभिषेक पौडेल पनि आजको घटाइलाई करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘बजार लगातार ४ दिन बढ्यो’, उनले भने, ‘आज घट्नुमा प्रफिट बुक नै हो। त्यसैले यो स्वाभाविक करेक्सन नै हो।’

बजारमा सोचेजति कारोबार नहुनुको मुख्य कारण भने लगानीकर्ताहरु सबै चुनावमा केन्द्रित हुनु नै हुन सक्ने पौडेलको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी ११ वटामा रातो पोतिएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह १.४६ प्रतिशतले उकालो लाग्दा अन्य समूहमा ०.४१ प्रतिशतको बढोत्तरी भएको छ। 

आज विकास बैंक समूह सर्वाधिक २.१४ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह २.१२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.११ प्रतिशत, व्यापार समूहमा १.४१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.१५ प्रतिशत, जलविद्युत समूहमा १.९५ प्रतिशत, वित्त समूहमा ०.५६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.८ प्रतिशत, लघुवित्त समूहमा १.५३ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.१६ प्रतिशत र लगानी समूहमा १.७६ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ५२ लाख २७ हजार ३५९ कित्ता सेयर २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७३ रुपैयाँमा किनबेच भएका छन्।

आज शिवम सिमेन्टको सर्वाधिक ११ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ। राधी विद्युत कम्पनीको ८ करोड १० लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन अरुण भ्याली हाइड्रोपावरको ८ करोड ९ लाख रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सको ७ करोड ८३ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ७ करोड ४१ लाख रुपैयाँ, गुराँस लाइफ इन्स्योरेन्सको ६ करोड २६ लाख रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ७६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड ५९ लाख रुपैयाँ, नेपाल टेलिकमको ५ करोड ३८ लाख रुपैयाँ र नेसनल हाइड्रोपावरको ५ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजेटिभ सर्किट लागेको छ।

यो दिन सूर्योदय वोमी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।