काठमाण्डौ। वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिको वृज एक्सपर्ट मेसन क्लब प्रभावकारी बन्दै गएको छ। 

क्लबमा आबद्ध सदस्यलाई घरले च्यापिएर मृत्यु भएपछि परिवारलाई कम्पनीले रु. ५ लाख आर्थिक सहयोग गरेको छ। यही जेठ ८ गते क्लबका सदस्य प्युठान जिल्ला नौबहिनी गाउँपालिका–१ स्याउलीवाङका ३९ वर्षिय बोमबहादुर मल्ल, उनकी पत्नी र छोरा गरी तीनजनाको घटनास्थलमै मुत्यु भएको थियो। सोही परिवारलाई वृज सिमेन्टले ५ लाख रुपैयाँ बीमाबापतको रकम हस्तान्तरण गरेको हो। 

कम्पनीका एरिया सेल्स म्यानेजर नारायण जीसीले मृतककी छोरी कुमारी मल्ललाई रु. ५ लाखको चेक हस्तान्तरण गरेका छन्। 

वृज सिमेन्टले वृज सिमेन्ट एक्सपर्ट मेसन क्लब स्थापना गरी क्लबमा आवद्व सदस्यहरुको ५ लाख रुपैयाँबराबरको बीमा योजना अगाडि बढाएको छ। देशका विभिन्न स्थानमा एक्सपर्ट मिट कार्यक्रम गर्दै निर्माणकर्मीलाई एक्सपर्ट मेसन क्लबमा आबद्ध गरेर बीमासहितका थप सुविधाहरु प्रदान गर्दै आएको वृज सिमेन्ट कम्पनीका सेल्स म्यानेजर नुमेन्द्र पौडेलले जानकारी दिए। पौडेलले कम्पनीले आफ्नो सामाजिक उत्तदायित्वको भूमिका निर्वाह गर्न र निर्माणकर्मीको परिवारको पनि सुरक्षाको जिम्मेवारीको महसुस गरी कार्यक्रम ल्याएको बताए। 

उक्त कार्यक्रमलाई अझै प्रभावकारी र फलदायिक बनाउनका लागि कम्पनीले एक्सपर्ट मेसन क्लबमा आबद्ध निर्माणकर्मीहरुलाई उपहारसहित पासबुक पनि वितरण गरेको छ। यस योजनाअन्तर्गत वृज सिमेन्टका कुनै पनि उत्पादनहरु खरिद गरी योजनामा सहभागी हुन सकिनेछ। 

कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनका लागि काठमाण्डौ, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौलीवालिङ, नारायणघाट, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर, शीतलनगर, बुटवल, स्याङ्जालगायतका स्थानमा  कार्यक्रम सञ्चालन गरेको थियो। अहिलेसम्म कम्पनीले २ हजार ५०० बढी निर्माणकमीलाई एक्सपर्ट मेसन क्लबमा आबद्ध गरिसकेको वृज सिमेन्टले जनाएको छ। बढीभन्दा बढी निर्माणकमीलाई यस क्लबमा आबद्ध गराउने र क्लबमा आबद्ध सदस्यहरुलाई आवश्यक सहयोग जुटाउने योजना वृज सिमेन्टको छ।