काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८ करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ११५.६० प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ५० करोड ४८ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा यो कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय ३०६.८२ प्रतिशतले बढाएर १८ करोड ५९ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष यस्तो आय ४ करोड ५७ लाख रुपैयाँ रहेको थियो। 

यो अवधिमा कम्पनीको दाबी भुक्तानी ११६४.९० प्रतिशतले बढेर ५ करोड ३४ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो भुक्तानी ४२ लाख २३ हजार रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ८४.५६ प्रतिशत बढेर २५ करोड ९६ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १४ करोड ६ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार बढाएर १ अर्ब ७६ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषको ६२ करोड ६१ लाख रुपैयाँमा सीमित थियो। 

अघिल्लो वर्षको यही अवधिसम्म १५ करोड ८८ लाख रुपैयाँको जगेडा तथा कोषको आकार बढेर ३६ करोड ६० लाख रुपैयाँको उचाइमा पुगेको छ। त्यस्तै महाविपत्ति जगेडाको आकार १ करोड ३७ लाख रुपैयाँबाट बढेर २ करोड ५७ लाख रुपैयाँको बनेको छ। 

तेस्रो त्रैमासमा कम्पनीको नाफा १४८.३४ प्रतिशतले बढेर १३ करोड ७८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको नाफा ५ करोड ५५ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको कुल कायम बीमालेखको संख्या २ लाख ५ हजार १९१ रहेको छ। गत वर्ष यही अवधिमा यो संख्या ७८ हजार ९१७ रहेको थियो।

चुक्तापुँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९.१९ रुपैयाँ रहेको छ। पीई रेसियो ८७.०५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११८.३० रुपैयाँ रहेको छ।