काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४० करोड पैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.७८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले बीमा शुल्क आर्जन १ अर्ब १५ करोड रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत २४ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आय ९ करोड ३ लाख ६६ हजार १६९ रुपैयाँमा मात्र थियो। 

यो अवधिमा कम्पनीले ७ करोड ६४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले ८० लाख ५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको नाफा २८३.४७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ४ करोड ४४ लाख रुपैयाँ नाफा गरेको कम्पनीले समीक्षा अवधिमा १७ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

कम्पनीको व्यवस्थापन खर्च ५.४४ प्रतिशतले वृद्धि भएर ४० करोड ३३ लाख रुपैयाँ पुगेको छ। 

समीक्षा अवधिमा कम्पनीको जीवन कोषको आकार बढेर १ अर्ब ९४ करोड रुपैयाँको भएको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा १ अर्ब ४ करोड रुपैयाँ रहेको थियो। १४ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार पनि बढेर ३९ करोड ५५ लाख रुपैयाँको उचाइमा पुुगेको छ। 

समीक्षा अवधिसम्म कम्पनीले १ लाख ३३ हजार ८९३ बीमालेख जारी गरेको छ। यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.५३ रुपैयाँ, पीई अनुपात ८८.३८ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१८.२६ रुपैयाँ रहेको छ।