काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले नेपाली पुँजीबजारमा नयाँ–नयाँ प्रविधिहरुको विकास गरी ग्राहक तथा सम्पूर्ण नेपाली पुँजीबजारको विकासमा आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ। 

यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटलले नेपालमा सर्वप्रथम आयोजना प्रभावित स्थानीयहरुले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ। प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्कासन गर्ने क्रममा इलाम जिल्लाका आयोजना प्रभावित बासिन्दाहरुले आफैले अनलाइनबाट आवेदन दिन मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो। 

यसका लागि क्यापिटलको वेबसाइट https://ipoapply.prabhucapital.com/ बाट आवेदकहरुले आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजातसहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन्। यसबाट हितग्राही खाता खोल्न बाँकी तथा हितग्राही खाता भएका दुवैले अनलाइनबाट आवेदन दिन सक्नेछन्। 

आवेदन गरिसकेपछि लगानीकर्ताले अनलाइनबाट ई–सेवा, खल्ती तथा प्रभु पेबाट भुक्तानी गर्न सक्नेछन्। यसका साथै कनेक्ट आईपीएस वा बैंकमा गई आवेदन फारम सबमिट गरेपछि प्राप्त आवेदन नम्बर र आवेदकको नाम राखी बुझाएको रकमको भौचर अपलोड गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन्। 

यो वेबसाइटबाट हाल इलाम जिल्लावासीले इलाम नगरपालिकाको वार्ड नं. १ र ४ मा अवस्थित पुवा–२ जलविद्युत आयोजना निर्माण गरिरहेको पिपुल्स पावरको प्राथमिक निष्कासनमा आवेदन दिन सक्नेछन्।