काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेड सहित ६ वटा मर्चेन्ट बैकरले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट विशिष्टीकृत लगानी कोषअन्तर्गत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमति दर्ता प्रमाणपत्र पाएका छन्। 

पुँजी तथा वस्तु बजारको नियामक निकाय सेबोनले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्थाबमोजिम कोष व्यवस्थापकको काम गर्न आज भदौ १९ गते आइतबारका दिन सेबोनमा एक कार्यक्रमको आयोजना गरी प्रभु क्यापिटलसहित ६ वटा मर्चेन्ट बैंकरलाई अनुमतिपत्र हस्तातरण भएको हो। सेबोनले प्रभु क्यापिटलसहित एनआईबिएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल ईन्भेष्टमेण्ट क्यापिटल, एनआईसी एसिया क्यापिटल सहित ६ वटा क्यापिटललाई अनुमतिपत्र प्रदान गरेको हो।यसअघि ग्लोबल इक्विटी फन्ड र अवसर इक्विटी फन्ड गरी सेबोनबाट अनुमति पाएको थियो। 

एसआईएफको कोष प्रबन्धकका लागि पाएको स्वीकृतिसँगै प्रभु क्यापिटललाई नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नवीन सेवाहरु प्रदान गर्ने बाटो खुलेको छ। नवीनतम ज्ञान, सीप÷क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न स्वदेशी तथा वैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज भण्डजस्ता उपकरणमार्फत लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने क्यापिटलले जनाएको छ। 

यस्तो कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पेन्सन कोष, अन्तर्राष्ट्रिय लगानीकर्ता तथा नेपाली तथा गैरआवासीय नेपालीलगायतले लगानी गर्न सक्नेछन्। जसबाट स्वदेशी श्रोत परिचालन भर्ई देशमा प्रत्यक्ष वैदेशिक लगानीलाई सहजीकरण र आकर्षित गरी समग्र पुँजीबजार विस्तार गर्न सहयोग पुग्नेछ भने राष्ट्रको समग्र व्यापार क्षेत्रका लागि यो लाभदायक हुनेछ।