काठमाण्डौ । प्रभु बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष लीलाप्रकाश सिटौलाले पदभार ग्रहण गरेका छन्। 

सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष आइतबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए। सोही दिन सञ्चालक समितिको २०९ औँ बैठकको अध्यक्षता गरी सिटौलाले पदभार ग्रहण गरेका हुन्। 

बैंकको स्वतन्त्र सञ्चालकका रुपमा रहेका सिटौलालाई गत वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको थियो।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेका सिटौलाले नेपालको बैंकिङ क्षेत्रमा लामो कार्यानुभव सँगालेका छन्। नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवाअवधि पूरा गरी सिटौला कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भएका थिए। उनले कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि वहन गरेका थिए। उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ सेवा प्रवाह गरिरहेको कृषि विकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उनको विशेष योगदान रहेको थियो। 

सोही अवधिमा सिटौलाले नेपालका वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्यसमितिमा रही काम गरेका थिए। उनीसँग बीमा संस्थान, नेपाल स्टक एक्सचेन्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर काम गरेको अनुभव पनि छ। 

नेपालको बैंकिङ क्षेत्रमा  लामो समयसम्म कार्यरत रहेर बैंकिङ जगतका विविध क्षेत्रमा अनुभव हासिल गरेका सिटौलाको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक, सेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैका लागि गौरवको विषय रहेको बैंकले जनाएको छ। 

सिटौलाको सबल नेतृत्वबाट प्रभु बैंकलाई आगामी दिनमा व्यापार–व्यवासाय अभिवृद्धिका अतिरिक्त अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ।