काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको क्षमताअनुसारको राहात वा सहुलियतको मात्र अपेक्षा गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभामा उद्घाटन मन्तव्य दिंदै प्रम ओलीले यस्तो आग्रह गरेका हुन् । 

कोभिड १९ भाइरसका कारण अर्थतन्त्रमा ठूलो असर गरेको भन्दै उनले रिजर्ब र बचत नभएको देश(अभिभावक)बाट धेरै अपेक्षा नगर्न भनेका हुन् । 

'उद्यमी व्यवसायी साथीहरुलाई लाग्छ होला कतिवटा देशका सरकारहरुले उद्योग व्यवसायको पुनरउत्थानका लागि ठूलै रकम दिएका छन्, नेपालले किन दिंदैन ?' ओलीले भने-'हामी मनको गरीब होइन, दिने इच्छा नगर्ने पनि होइन, तर नेपाल सरकारको आर्थिक क्षमता पनि हेर्नुपर्छ । त्यसकारण हामीले आफ्नो अभिभावकको गच्छेअनुसार मात्र अपेक्षा गर्न बाञ्छनीय हुन्छ ।' 

उनले नेपाल सरकारले आफ्नो क्षमताभन्दा एक कदम अगाडि बढेर साथ र सहयोग गर्ने आश्वासन समेत दिएका छन् । 'तर, त्यो फेरि पनि सीमित नै हुनेछ । किनभने हामीसँग रिजर्ब, सेभिंग्स छैन ।'-उनले थपे। 

भवानी राणाको प्रशंसा
यसैबीच, प्रधानमन्त्री ओलीले उद्योग वाणिज्य महासंघका पहिलो महिला अध्यक्षको रुपमा भवानी राणा सफल भएकी भन्दै उनको प्रशंसा गरे । महिला अध्यक्षको रुपमा उहाँले अरुभन्दा राम्रो ढंगले महासंघलाई अगाडि बढाउनुभयो । उनले थपे-प्रतिकूल अवस्थामा पनि नहडबडाई महासंघलाई अगाडि बढ्नुभयो, उहाँ सफल हुनुभयो।'