बेनी (म्याग्दी) । म्याग्दी बेग–६ स्थित बेगगाउँमा बाढीले बस्तीसँगै गाविसकै ९ वडा जोड्ने पक्की मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि घुमाउरो बाटोको प्रयोग गरी गन्तव्यमा पुग्ने गरेका यात्रुलाई सोमबारदेखि सहज भएको छ । 

ठाडोखोलाले बस्तीसहित कालीगण्डकी नदीको बहावलाई समेत रोकेपछि अलपत्र परेका यात्रुलाई सोमबार नेपाली सेना, प्रहरीसहित युवाको प्रयासमा अस्थायी साँघु बनाइएको छ । गत बिहीबार बस्ती पुर्ने गरी आएको बाढीका कारण उत्तरी म्याग्दी र मुस्ताङबाट आवतजावत गर्ने सर्वसाधारणले पोखरेबगर, हिस्तानको दोसल्ले, पहिरो र औल गाउँ हँुदै भगवती गाविसको बैँसरीसम्म चार घन्टा लगाएर कठिन यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो । 

बाढीले बेनी–जोमसोम सडकसमेत अवरुद्ध बनाएपछि बेगको तिप्लाङ, दोवा, घार, शिख, भुरुङ तातोपानी, दाना गाविससहित मुस्ताङबाट आवतजावत गर्ने स्थानीय, पर्यटक, कर्मचारी समस्यामा परेका थिए । पशुचौपायासमेत आवतजावत गर्ने मार्गको प्रयोग बालबालिका, बिरामी र विदेशी पर्यटक दैनिक डेढ सयको हाराहारीमा प्रयोग गर्ने गरेका थिए । साँघु बनेपछि आवतजावत सहज भएको छ । 

सडकखण्डअन्तर्गत समेत ठाउँठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम सडकमा यात्रा कष्टकर बनेको छ । सडक विभागले सडकमा खोलेको नयाँ ट्र्याकमा समेत पहिरो खसेपछि सर्वसाधारणले पहिरो र ढल्न लागेको अवस्थामा रहेका रूखको बीचबाट यात्रा गरिरहेका छन् । सडक अवरुद्ध भएपछि बाढी प्रभावितलाई राहत सामग्री पु¥याउनसमेत निकै समस्या भइरहेको छ । सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तुसहित कृषि सामग्री ढुवानीमा समस्या भइरहेको छ । 

यसैबीच, बाढी प्रभावितलाई व्यक्तिगत तथा संस्थागत रुपमा राहत सामग्री सहयोग भइरहेको छ । अस्थायी टहरा हालेर बसेको स्थानमै पुगेर प्रहरीसँग समन्वय गरी सामग्री वितरण भइरहेको छ ।