काठमाण्डौ । दिनभर प्रहरी नियन्त्रणमा रहेका तिलक कोइराला र नयन बास्तोलालगायतका सेयर लगानीकर्ताहरु आज साँझ छुटेका छन्। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष चक्रबहादुर बुढासँग पुँजीबजार सुधार र विस्तारका छलफलका लागि पुगेका लगानीकर्तालाई प्रहरीले बिहान गिरफ्तार गरी अहिले सिंहदरबार प्रहरीचौकीमा दिनभर राखेको थियो। नेप्सेका अध्यक्ष बुढाले आउँदो आइतबार छलफलका लागि डाकेपछि लगानीकर्ताहरुलाई प्रहरीले साँझ छाडिएको हो। 

केही दिनअघि कोइरालाले नेप्सेमा शुक्रबार भेला हुन लगानीकर्ताहरुलाई अपिल गरेका थिए। उनको अपिलअनुसार लगानीकर्ताहरु नेप्सेमा भेला भएका थिए। 

लगानीकर्ताले आफूहरुले उठाएका मागका विषयमा नेप्से अध्यक्ष बुढासँग छलफल गर्न चाहेका थिए। तर, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले अध्यक्ष बुढा अहिले कार्यालयमा नभएको जानकारी गराएका थिए। तर, कोइरालाले आफूहरु अध्यक्ष बुढालाई नभेटी नफर्किने अडान लिएका थिए। 

त्यतिकैमा नेप्सेमा परिचालित प्रहरीहरुले ‘यो निषेधित क्षेत्र हो, यहाँ भेला हुन पाइँदैन’ भन्दै लगानीकर्तालाई धरपकड सुरु गरेका थिए। त्यस क्रममा प्रहरीले लगानीकर्ता तिलक कोइराला र नयन बास्तोलालाई गिरफ्तार गरी सिंहदरबार चौकीमा लगेर राखेका थिए। 

प्रहरी नियन्त्रणबाट छुटेका लगानीकर्ता बास्तोलाले आफूहरुको माग पूरा नभएसम्म नेप्से घेराउ अभियान जारी रहने र लगानीकर्तालाई साथ दिन आग्रह गरे। ‘नेप्सेका अध्यक्ष भन्सार विभागका डीजी भएकोले उनले हामीलाई भन्सार विभागमा छलफल गर्न बोलाएका छन्’, उनले भने, ‘तर हामी छलफल गर्न किन भन्सार विभाग जाने ? छलफल हामी नेप्सेमै बसेर गर्न चाहन्छौँ। त्यसैले आइतबारदेखि हामी नेप्सेमै भेला हुन्छौँ। छलफल गर्ने हो भने नेप्से अध्यक्ष त्यहीँ आउनुपर्छ।’

विशेष रुपमा यसअघि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग भएको १९ बुँदे सहमतिको बुँदा नं. ७ मा रहेको कुरा तत्काल कार्यन्वयन हुनुपर्ने आफूहरुको माग रहेको बास्तोलाले बताए। 

सेबोनसँग भएको १९ बुँदे सहमतिको बुँदा नं. ७ मा नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिवेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने कुरा उल्लेख छ।