काठमाण्डौ । पुँजीबजार सुधार र विकासका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइरालाले आजैबाट प्रहरी हिरासतभित्रै आमरण अनशन सुरु गरेका छन्। 

संघर्ष समितिले पूवनिर्धारित आन्दोलनका कार्यक्रमअनुसार आज दिउँसो ३ बजे लगानीकर्ताहरु भद्रकालीस्थित नेप्से घेराउ गर्न गएका थिए। तर, प्रहरीले हस्तक्षेप गर्नुका साथै कोइरालासहित ५ जनालाई पक्राउ गरेर लगेको थियो। कोइरालासहित पाँचैजना अहिले सिंहदरबार वृत्तमा राखिएका छन्। 

प्रहरी हिरासतभित्रैबाट कोइरालाले आजैबाट आमरण अनशन सुरु गरिएको घोषणा गरेका हुन्। अन्य चारजना भने रिले अनशनमा सहभागी हुने कोइरालाले जानकारी दिए। पक्राउ पर्ने अन्यमा नवराज उप्रेती, सीताराम सञ्जेल, नानीबाबु खरेल र पासाङ शेर्पा छन्।

प्रहरी हस्तक्षेपविरुद्ध सरकारको तानाशाह व्यवहारविरुद्ध आफूले प्रहरी हिरासतभित्रैबाट आमरण अनशन सुरु गरेको कोइरालाले बताए। ‘लगानीकर्ताले उठाएका १९ बुँदे माग पूरा नभएसम्म आमरण अनशन रोकिने छैन’, उनले भने, ‘म साथीहरुलाई पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमहरु जारी राख्न पनि अनुरोध गर्दछु।’

भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्ज अगाडि आज दिउँसो ३ बजे प्रदर्शन गर्न कालोपट्टि बाँधेर पुगेका लगानीकर्ताहरुलाई प्रहरीले हस्तक्षेप गरी धरपकड समेत गरेको हो। 

लगानीकर्ताहरुले विभिन्न १९ बुँदा माग राखी हिजोदेखि आन्दोलन थालेका थिए । हिजो खुमलटारस्थित नेपाल धितोपत्र बोर्डमा प्रदर्शन गरी ज्ञापनपत्र बुझाएका थिए।