काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष चक्रबहादुर बुढासँग पुँजीबजार सुधार र विस्तारका छलफलका लागि पुगेका सक्रिय लगानीकर्ता तिलक कोइराला र नयन बास्तोलालगायतलाई आज प्रहरीले गिरफ्तार गरी अहिले सिंहदरबार प्रहरीचौकीमा राखेको छ। 

केही दिनअघि कोइरालाले नेप्सेमा शुक्रबार भेला हुन लगानीकर्ताहरुलाई अपिल गरेका थिए। उनको अपिलअनुसार लगानीकर्ताहरु नेप्सेमा भेला भएका थिए। 

लगानीकर्ताले आफूहरुले उठाएका मागका विषयमा नेप्से अध्यक्ष बुढासँग छलफल गर्न चाहेका थिए। तर, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले अध्यक्ष बुढा अहिले कार्यालयमा नभएको जानकारी गराएका थिए। तर, कोइरालाले आफूहरु अध्यक्ष बुढालाई नभेटी नफर्किने अडान लिएका थिए। 

त्यतिकैमा नेप्सेमा परिचालित प्रहरीहरुले ‘यो निषेधित क्षेत्र हो, यहाँ भेला हुन पाइँदैन’ भन्दै लगानीकर्तालाई धरपकड सुरु गरेका थिए। त्यस क्रममा प्रहरीले लगानीकर्ता तिलक कोइराला र नयन बास्तोलालाई गिरफ्तार गरी सिंहदरबार चौकीमा लगेर राखेको छ। 

प्रहरीचौकीबाटै बिजशालासँगको टेलिफोन सम्पर्कमा बास्तोलाले भने, ‘हामीलाई प्रहरीले अपराधीजस्तै व्यवहार गर्यो।’

बास्तोलाले आफूहरु आफ्ना मागका विषयमा छलफल गर्नमात्रै नेप्सेका अध्यक्षलाई भेट्न खोजेको बताए। ‘हामी केही लगानीकर्ता साथीहरुमात्रै नेप्से पुगेका थियौँ तर हामीलाई नेप्से अध्यक्षसँग भेट्न दिइएन’, उनले भने, ‘उल्टै ३०–४० जना प्रहरी परिचालन गरेर अपराधीसरह व्यहार गर्दै पक्राउ गरेर यहाँ ल्याइयो। हाम्रो मोबाइल पनि सिज गरियो।’

आफूहरुलाई अपराधीहरु राख्ने ठाउँमा राख्न खोज्दा प्रतिवाद गरिएको बास्तोलाले बताए। ‘किनकि हामी अपराधी होइन, हामीले कुनै अपराध गरेको छैन’, उनले भने।

विशेषगरी यसअघि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग भएको १९ बुँदे सहमतिको बुँदा नं. ७ मा रहेको कुरा तत्काल कार्यन्वयन हुनुपर्ने आफूहरुको माग रहेको बास्तोलाले बताए। ‘त्यो कुरा कार्यान्वयन हुनुपर्यो कि नेप्सेको अध्यक्ष आएर हामीसँग छलफल गर्नुपर्यो’, उनले भने, ‘त्यति नभएसम्म अब हामी यो चौकीबाट बाहिर जाँदैनौँ, यहीँ बस्छौँ।’

सेबोनसँग भएको १९ बुँदे सहमतिको बुँदा नं. ७ मा नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिवेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने कुरा उल्लेख छ।