काठमाण्डौ । मुद्दति निक्षेपमा एकाएक १० प्रतिशतभन्दा बढीको ब्याजदर प्रकाशित गरेको सनराइज बैंकलाई पछ्याउँदै अन्य ४ बैंकले पनि उच्च दर प्रकाशन गरेका छन् । 

सनराइजको पद्चाप पछ्याउने बैंकहरुमा बैंकरका नेतादेखि प्रणालीको ठूलो बैंकसम्म परेको छ । 

वाणिज्य बैंकका सीइओहरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का अध्यक्ष भूवन दाहालले नेतृत्व गरेको सानिमा बैंकले समेत मुद्दति निक्षेपको ब्याजदर बढाएर ९.५१ प्रतिशत पुर्याएको छ । 

प्राइम कमर्सियल बैंकले समेत ब्याजदर बढाएर १० प्रतिशत हाराहारी पुर्याएको छ । यो बैंकले मुद्दति निक्षेपको ब्याजदर बढाएर ९.७६ प्रतिशत पुर्याएको हो । 

एनएमबीको मुद्दतिको ब्याजदर ९.५२ प्रतिशत छ भने प्रणालीको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंकले समेत मुद्दति निक्षेपको ब्याजदर बढाएर ९.५ प्रतिशत पुर्याएको छ ।