काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडलाई कैलाश विकास बैंक लिमीटेड प्राप्तिका लागि नेपाल राष्ट्रबैंकले अनुमति दिएको छ । 

प्राइमले कैलाश बैंकलाई १००ः९४ हाराहारीको सेयर स्वाप रेसियोमा गाभ्ने गरी असोज १५ गते प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

यी दुवै बैंकको पुस २५ गते सम्पन्न साधारणसभाले आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गरी अन्तिम स्वीकृतिका लागि राष्ट्रबैंकसँग माग गरेका थिए । आवश्यक सबै प्रक्रिया पूरा भएका कारण प्राइमलाई कैलाशलाई प्राप्तिको अन्तिम अनुमति दिइएको राष्ट्रबैंकले जनाएको छ ।

राष्ट्रबैंकको अनुमतिसँगै प्राइमले छिटोमा फागुनभित्रै एकीकृत कारोबार गर्ने तयारी थालेको छ । 

मर्जर सम्झौतापछि प्राइमको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको १६ प्रतिशत बोनस सेयर वितरणको निर्णय पारित गरिसकेको छ भने कैलाशको वार्षिक साधारणसमा पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्तापुँजीको १६ प्रतिशत बोनस सेयर र २.७७ प्रतिशत नगद लाभांश वितरणको निर्णय भई कार्यान्वयनमा आइसकेको छ । 

ओम डेभलपमेन्ट बैंकसँगको मर्जर असफल भएपछि अप्ठ्यारोमा परेको प्राइम बैंक पछिल्लो समय साना संस्थाहरुलाई गाभेर बलियो बन्ने दौडमा छ । 

कैलाशलाई प्राप्तिपछि बैंकको नाम प्राइम कमर्सियल बैंक लिमिटेड रहेनछ र रजिस्टर्ड तथा कर्पोरेट कार्यालय काठमाण्डौको कमलापोखरीमा रहनेछ ।

कैलाशको प्राप्तिपछि प्राइम बैंकको चुक्तापुँजी १३ अर्ब ९५ करोडको उचाईमा पुग्नेछ । बैंकको पुँजी कोष १९ अर्ब, निक्षेप १ खर्ब २८ अर्ब र कर्जा १ खर्ब १५ अर्ब रुपैयाँको उचाईमा पुग्नेछ । 

कैलाशको प्राप्तिपछि बैंकको देशभरको शाखा संख्या २ सय वटा हुनेछन् ।