काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंकहरुमध्ये कुनै बेलाको टप बैंक, कैलाश विकास बैंकलाई प्राइम कमर्सियल बैंकले गाभ्ने संभावना बढेको छ। 

प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकका संचालकहरुबीच गाभ्ने गाभिने सम्बन्धमा केही चरणका छलफल समेत भइसकेको उच्च स्रोतले जानकारी दिएको छ । 

ओम डेभलपमेन्ट बैंकसँगको मर्जर टूटेपछि उपयुक्त पार्टनरको खोजीमा रहेको प्राइम कमर्सियल बैंकले अन्य साना वित्तीय संस्थाहरुसँग समेत एक्वीजिसनको छलफल अगाडि बढाएको छ । कन्काई विकास बैंकसँग प्राप्तिको सम्झौता गरिसकेको उसले सोही साइजका अन्य केही संस्थालाई समेत निकट भविष्यमै गाभ्ने विषयमा सम्झौता गर्ने बताइन्छ । तर, यी साना संस्था गाभेर प्राइममा ठूलो पूँजी थपिने अवस्था छैन ।  

यहीकारण प्राइमले सानासँगै ठूला कम्पनी पनि ताकिरहेको छ । यो क्रममा राष्ट्रियस्तरको विकास बैंक, कैलाश विकास बैंकका संचालकसँग प्राइमका संचालकहरुको कुरा लगभग मिलिसकेको स्रोतले जानकारी दियो । 

प्राइमका एक संचालकका अनुसार कैलाश विकास बैंकले छलफलको सुरुवाती चरणमा प्राइमसँग बिलय हुनका लागि १ बराबर १ को सेयर स्वाप अनुपात कायम हुनुपर्ने माग गरेको थियो । प्राइमको तर्फबाट १०० ः ९० को अनुपात मात्र दिन सकिने विषय राखिएको थियो । तर, छलफलको क्रममा दुई पक्षबीच ९५ मा कुरा मिलेको बताइन्छ । 

कैलाशलाई १००: ९५ दिएर भित्र्याउने विषयमा प्राइम बैंकका ठूला प्रमोटर सहमत भएका छन् । यो विषयमा संचालक समितिबाट निर्णय भएपछि विषयले गति लिने स्रोत बताउँछ । 

‘१००: ९५ सेयर स्वाप अनुपातमा कैलाश प्राइममा बिलय हुन तयार भएको छ ।’ उच्च स्रोतले भन्यो–‘बाँकी इस्यूहरुमा कुरा मिलेपछि चाँडै यी दुईबीच गाभ्ने गाभिने सम्झौता भएमा आश्चर्य नमान्दा हुन्छ ।’ 

कैलाश विकास बैंकको हालको चुक्तापुँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । प्राइम कमर्सियल बैंकको ८ अर्ब ३ करोड रुपैयाँ रहेको छ । सहमति भएको भनिएअनुसार १००: ९५ को सेयर अनुपातमा कैलाश प्राइममा गाभिए कैलाशको तर्फबाट २ अर्ब ३९ करोड बढी चुक्तापूँजी थपिनेछ । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कैलाशले २९ अर्ब ४८ करोड निक्षेप संकलन गरी २६ अर्ब ५४ करोड कर्जा परिचालन गरेको थियो भने प्राइमले ६८ अर्ब ६५ करोड निक्षेप संकलन गरी ६९ अर्ब ८६ करोड कर्जा परिचालन गरेको थियो । 

प्राइममा खराब कर्जाको अनुपात १.५८ प्रतिशत छ भने कैलाशमा ०.३५ प्रतिशत मात्र छ । तेश्रो त्रैमासमा कैलाशको वार्षिकीकृत प्रतिसेयर आम्दानी २१.१७ रुपैयाँ छ भने प्राइमको २५.६९ रुपैयाँ छ । 

प्राइमको शाखा संख्या ७३ रहेको छ भने कैलाशको शाखा सञ्जाल संख्या १०० रहेको छ । 

दोश्रो बजारमा कैलाश विकास बैंकको अन्तिम बिक्री मूल्य प्रतिकित्ता २३८ रुपैयाँ रहेको छ भने प्राइमको रु. ३०० रहेको छ ।